काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ १० ज्योतिनगरबाट हराएका एक बालक न्युप्लाजास्थित सडकमा फेला परेका छन् ।
बेवारिसे अवस्थामा फेला परेका ज्योतिनगरका रबिन गुरुङका ७ वर्षीय छोरा जेदेनलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
काठमाडौंको न्यूप्लाजा स्थित सडकबाट बा १ ज १९५९ नम्वरको ट्याक्सी चालकले सडकमा हिँडिराखेको बालक फेला पारी प्रहरी वृत्त सिंहदरबारमा बुझाएका थिए ।
बालकलाई सोधपुछ गर्दा उनले आफ्नो र आफन्तको बारेमा केही नबताएकोले बालकको हुलियासहितको विवरण प्रहरी कन्ट्रोल कक्षमार्फत काठमाडौं उपत्यकास्थित सम्पूर्ण प्रहरी वृत्त तथा प्रभागहरुमा जानकारी गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मा बुझाउन सम्पर्क गर्दा उनको अभिभावकले उक्त नाबालक हराएकोले खोजतलासको लागि हुलिया टिपाएको भन्ने जानकारी प्राप्त हुन आएको थियो ।
ती बालक घरमा रंगरोगन गर्ने क्रममा गेट खुलै रहेकोले बाहिर निस्की सम्पर्कविहीन भएका थिए। प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी बालकलाई अभिभावकको जिम्मा लगाएको छ ।