काठमाडौं । तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएको हो ।
उक्त वायुयान अन्तिम पटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो ।
उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ ।
तेह्र जनाको शव भेटियो
जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।
हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।
समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेकाले हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी लैजान र सङ्कलित शव ल्याउन समस्या भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाली सेनाको एक, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक वटा हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छाडेर नाउरीकोट आएको थियो ।
कुहिरो लागेको र प्रतिकूल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट नेपाली सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।
स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए ।