काठमाडौँ । आइतबार बिहान बेपत्ता तारा एयरलाइन्सको जहाजको खोजी तथा उद्धार कार्य आजलाई स्थगित भएको छ । पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतवार बिहान उडेको केही मिनेटमै बेपत्ता भएको थियो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आइतवार दिनभर भएको खोजीकार्यबाट जहाज नभेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज दिनभर खोजी गर्दा पनि तारा एयरको बेपत्ता जहाज भेटिएन। दुर्गम क्षेत्र भएकाले समस्या भयो। मौसमको खराबी र साँझ पनि परेकाले खोजी आजलाई रोकिएको छ । जहाज खोजी कार्यलाई सोमबार बिहानैदेखि स्थलगत र हवाईमार्गबाट पनि जारी राख्ने छौँ। उद्धार तथा खोजी टोली अहिले जोमसोममा स्टान्डबाइ छ ।’
१९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज मुस्ताङको शिखा क्षेत्रस्थित आकाशमा पुगेपछि एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो।
पछिल्लो पटक हराइरहेको तारा एयरलाइन्सको विमानका मुख्य चालक प्रभाकर प्रसाद घिमिरेको मोबाइल फोनको लोकेशन कोवाङ आसपास देखिएको बताइएको थियो।
पोखराबाट ९ः५५ मा उडेको विमान थासाङ पालिकामाथिको आकाशमा आइपुग्दा १०ः१५ भएको थियो।
१९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जनाएको थियो।