बालेनज्यू
काठमाडौंभित्र फोहोर होइन
फोहोर भित्र काठमाडौं छ
काठमाडौंभित्र
धूवाँ र धूलो होइन
धूवाँ र धूलोभित्र काठमाडौं छ
अनि
बालेनज्यू
काठमाडौंका सडकमा खाल्डोहरु होइन
खाल्डोहरुमा सडक छ
के छैन काठमाडौंमा
सब थोक छ
भद्रगोल पनि छ
भष्ट्राचार पनि छ !
बालेनज्यू
काठमाडौं रमाइलो पनि छ
सडकमै धान रोप्न पाइन्छ
हिलो र पानी छ
सडकमै माछा पाल्न
र डुङ्गा चलाउन पाइन्छ
किनकि
सडकमै ताल र पोखरी छ
बालेनज्यू
जोक सुनेर
हाँस्न पनि काठमाडौंमा पाइन्छ
खुला दिसा मुक्त काठमाडौं
लेखिन्छ
न कतै शौचालय देखिन्छ !
साँच्चै
बालेनज्यू
काठमाडौं देख्नै लाज लाग्ने
लाजमाडौं भयो
काठमाडौं फोहोरै फोहोरको
फोहोरमाडौं भयो
आखिर
बालेनज्यू
काठमाडौं लुटमाडौं भयो
त्यसैले
बालेनज्यू
काठमाडौँका बेगन्ती बेथिति बदल्न
महानगरका मतहरु
बटुल्दै
र स्वतन्त्र आवाज बोल्दै
काठमाडौं महानगर मेयर बनेकोमा
बधाई बालेनज्यू
बालेनज्यू बधाई !!
हेम विजी