काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्वाचित मेयर बालेन्द्र शाहले आउँदा पाँच वर्षमा काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउन सहकार्यका लागि सबैसँग अपील गर्नुभएको छ ।
शुक्रबार बिहान निर्वाचित घोषणा भएलगत्तै शाहले काठमाडौंका आम मतदातालाई धन्यवाद दिनुभएको छ ।
‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैजना मिलेर सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु धन्यवाद !’ साहले भन्नुभयो ।
साहलाई निर्वाचन अधिकृत कार्यालयका पदाधिकारीले बधाई तथा शुभकामना दिएका थिए। त्यसपछि संक्षिप्त सम्बोधन गर्दै बालेनले अबको ५ वर्षमा आफ्ना एजेण्डालाई सम्पन्न गर्ने धारणा प्रस्तुत गर्नुभयो।
‘स्थानीय निर्वाचनको जुन परिणाम आएको छ यसलाई हामीले हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुनेछ। अबको ५ वर्षमा हाम्रो एजेण्डाहरुलाई पूर्ण रुपमा कार्यसम्पन्न गर्ने धारणा रहेको छ,’ शाहले भन्नुभयो, ‘सम्पूर्ण नगरवासी र उपस्थिति साथीभाइ, परिवाजनलगायत सबै महानगरलाई हामीले परिवारको रुपमा लिएका छौं।’
महानगरको मेयरमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका साह २३ हजार ४ सय २६ मतान्तरले विजयी हुनुभएको हो ।
निर्वाचन आयोगमा प्रविष्ट अन्तिम मतपरिणाम अनुसार शाहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयो ।
इन्जिनियर समेत रहेका र्यापर साह मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल विजयी हुनुभएको छ । डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
उपमेयरका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको राष्ट्रिय सभागृह पुगेर साहले विजय र्याली सुरु गरेका छन्।