काठमाडौं । आफ्नै छात्रामाथि बलात्कारको आरोप लागेका सुनसरीको ब्लुमिङ लोटस इङलिस स्कूलका प्रिन्सिपल राज भन्ने राजकुमार खड्का पक्राउ परेका छन् ।
बलात्कारको आरोप लागेपछि सुनसरीबाट फरार भएका खड्का बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् ।
विदेश जाने तयारीमा रहेका खड्का बिहीबार पासपोर्ट लिन जाँदा राहदानी विभाग त्रिपुरेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
हाल उनी काठमाडौंको तार्केश्वर नगरपालिकाकै एक विद्यालयमा पढाइरहेको पनि खुलेको छ । प्रहरीले उक्त विद्यालयको नाम भने खुलाउन चाहेन ।
बलात्कार गरेको आरोपमा उनीविरुद्ध २०७५ भदौ २ गते ती छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि उनी सुनसरीबाट फरार भएका थिए।
सुनसरीबाट फरार भएका खड्का काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएको र त्यहीँको एक विद्यालयमा काम गर्दै आएका थिए।
इटहरी उपमहानगरपालिका ५ मा रहेको स्कुलको प्रिन्सिपल हुँदा उनले आफ्नै स्कूलमा पढ्ने छात्रालाई बिरामी भएको बेला जबरजस्ती करणी गरेको आरोप छ। १५ वर्षीय छात्रालाई घुमाउने र औषधि उपचार समेत गरी दिने भन्दै २०७४ साउन २६ गते बलात्कार गरेको ती पीडितले बताएकी छन् ।