बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले मूल्यवृद्वि तत्काल खारेज गर्न माग गर्नुभएको छ ।
लुम्बिनी प्रदेशको बजेट अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उहाँले महंगीले सीमा नाघेकोले सर्वसाधारणले कसरी जीवन गुजारा गर्ने हो ? भनी प्रश्न पनि गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘जनताले वेलेटबक्समा मत खसाल्ने बित्तिकै पेट्रोलियम पदार्थमा सर्वसाधारणको ढाड सेकिने गरि २–२ पटक गरिएको मूल्यवृद्वि तत्काल खारेज गरियोस् ।’
सांसद जिसीले व्यवस्था संघीयता जस्तो खर्चिलो रोज्ने र त्यसलाई धान्न दैनिक जसो मूल्यवृद्धि गरेर सरकारले जनजीवनमा निराशा र संशयको वातावरण पैदा गरेको आरोप पनि लगाउनुभयो । उहाँले पाँच वर्षे अवधिमा प्रदेशले गर्व गर्न लायक एउटा पनि काम नगरेको बताउनुभयो ।
‘भष्टाचार, सेटिङ, माफिया तन्त्र, सिन्डिकेट यो देशकै प्रमुख समस्या हो । यो हामी सबैलाई जानकारी छ । यसलाई रोक्न प्रदेश बनेपछि जनताले सुन्ने गरि, बुझ्ने गरी वा अनुभव हुने गरी के गर्यो ? हामीले यो पाँच वर्षमा नेतृत्व गरेका दुवै सरकारले जनतालाई जवाफ दिने केही छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
संघ, प्रदेश र स्थानीय तहले गर्ने कामको सीमा निर्धारण भएपनि सत्ता स्वार्थ र भोट बैंकको लागि एक लाख सम्मको बजेट पनि प्रदेश सरकारले विनियोजन गर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।
‘यो टोल विकास संस्था हो कि प्रदेश सरकार ?’ भन्दै सरकारको कार्यशैली प्रति कटाक्ष पनि गर्नुभयो गर्नुभयो ।
‘हाम्रो प्रदेशमा ६ तराई र ६ पहाडी र हिमाल सहितका जिल्ला छन् । पहाडी जिल्लामा पूर्वाधार विकासमा धेरै जोड गरेको पाईन्छ । आवश्यता अनुसार त ठिकै हो तर अनावश्यक र जहातहीको भद्रगोल निर्माण कार्यले ठूलो जोखिम निम्ताएको छ, त्यसबारे सहि कार्यविधि अपनाउन र नियमनमा ध्यान जान जरुरी छ’ उहाँले भन्नुभयो, ‘पहाडी जिल्लाहरूमा निर्माण गरिने असारे विकास र सडकमा नालीको व्यवस्था नगरिदा जनताको पैसा वर्षे भेलले बगाएर समाप्त गर्ने गरेको छ। काम थोरै भए पनि गुणस्तरीय र टिकाउ गर्ने गराउने तर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ ।’
पिछडिएको क्षेत्रलाई पनि समानताको अनुभूति हुने गरि सन्तुलित विकास नीति र गुणस्तरीय कार्यको थालनी गर्न आग्रह गर्नुभयो ।