काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल मान्छे बेचेर मालसामान किन्ने देश भएको बताउनुभएको छ ।
२०७९ जेठ ६ गते प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘लत्ताकपडा, भान्छा आदिमा चाहिने सबै कुरा हामी किन्छौँ’ उहाँले भन्नुभयो– ‘त्यो किन्नका लागि हामीले हाम्रा केटाकेटीहरू बाहिर पठाउँछौँ ।’
सांसद थापाले अगाडि भन्नुभयो– ‘नेपालमा वास्तवमा मान्छे बेच्ने र मालसामान किन्ने देश भएको छ ।’
उहाँले भान्छा चाहिने सबै कुरा विदेशबाट किन्ने र आफूलाई कृषिप्रधान मुलुक ठान्ने देश भएको पनि बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले दस वर्षको समयसीमा तोकेर सफ्ट पोलिसी र हार्ड पोलिसी अपनाउँदै औद्योगिक प्रवद्र्धनका लागि काम गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।
सफ्ट पोलिसीअन्तर्गत उत्पादन बढाउने र हार्ड पोलिसीअन्तर्गत करछुट दिनुपर्ने उहाँको भनाइ थियो ।