मोहन विक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)
देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
देशको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर र चिन्ताजनक छ । प्रथम– गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त गर्न देशीविदेशी प्रतिक्रियावादी शक्ति क्रियाशील छन् । उनीहरूले संगठित प्रकारले अभियान चलाइरहेका छन् । त्यसले गर्दा गणतन्त्र र धर्म निरपेक्षता समाप्त हुने खतरा बढ्दै गएको छ । द्वितीय– देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताअगाडि गम्भीर प्रकारको खतरा छ ।
खासगरी भारतीय साम्राज्यवादका कारणले त्यो खतरा गम्भीर बनेको छ । त्यसले नेपाललाई भारतमा गाभ्ने रणनीतिअन्तर्गत काम गरिरहको छ । मधेशवादी संगठनको माध्यमबाट त्यसले तराईमा पृथकतावादी गतिविधि बढाउने काम गरिरहेको छ । नेपालका भारतपरस्त तत्वको कारणले पनि त्यो समस्या अरू गम्भीर बनेको छ । तृतीय, नेकपा सरकारको गलत प्रकारको नीति वा कार्यशैलीका कारण पनि गणतन्त्र, धर्म निरपेक्षता वा राष्ट्रियताका विरुद्ध क्रियाशील राजनीतिक शक्ति वा तत्वलाई बल पुगिरहेको छ ।
संघीयता विरोधी आन्दोलन कसरी अगाडि बढिरहेको छ ?
हाम्रो पार्टीले संघीयता विरोधी आन्दोलनलाई लगातार अगाडि बढाइरहेको छ । करिब एकवर्षसम्म हामी आठौं महाधिवेशन सम्पन्न गर्न ब्यस्त हुनुप-यो । त्यसले गर्दा संघीयता विरुद्धको आन्दोलनसहित अन्य सबै आन्दोलनमा केही कमी आयो । तर महाधिवेशनपछि हामीले संघीयताका विरुद्ध मात्र होइन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, नागरिकता, भ्रष्टाचार, किसान समस्या, महिलामाथि बलत्कार, हत्या र हिंसा तथा मजदुर, जनजाति, दलित आदि सबैका समस्यालाई लिएर आन्दोलन गर्ने कार्यक्रम बनाएका छौं ।
विभिन्न मोर्चा वा जनवर्गीय संगठनको माध्यमबाट त्यस प्रकारको सङ्घर्षलाई अगाडि बढाउने कार्यक्रम बनाएका छौं । बेग्लाबेग्लै मोर्चा वा जनवर्गीय संगठनले त्यस प्रकारका संघर्षलाई बेग्लाबेग्लै र साथसाथै एकीकृत रूपले अगाडि बढाउने प्रयत्न गर्ने छन् । त्यसरी आगामी महिना व्यापक संघर्षका महिना हुने छन् ।
आठौं महाधिवेशनबाट कस्तो रणनीतिक र कार्यनीतिक रोडम्याप बनेको छ ?
रणनीतिक रूपमा हाम्रो कार्यक्रम नयाँ जनवादी क्रान्ति भएको कुरा स्पष्ट छ । कार्यनीतिक रूपमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षामा जोड दिने हाम्रो नीति रहेको छ । विद्यमान गणतन्त्र पुँजीवादी प्रकारको हो र त्यसद्वारा जनताका समस्या वास्तविक रूपमा समाधान हुँदैनन् । त्यसका लागि नयाँ जनवादी क्रान्ति नै आवश्यक हुन्छ ।
तैपनि कार्यनीति वा तात्कालिक दृष्टिकोणले वर्तमान गणतन्त्रको पनि प्रगतिशील र सकारात्मक महत्व छ । आज त्यसमाथि चौतर्फी हमला भइरहेको छ । गणतन्त्र समाप्त भयो भने देश प्रतिगमनतर्फ जाने सम्भावना छ । त्यसैले हामीले विद्यमान गणतन्त्रको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएका छौं ।
महाधिवेशनको सिलसिलामा पार्टीभित्र मतभेद भएको हल्ला बाहिर आएको थियो । महाधिवेशनपछि पार्टीमा विचारको व्यवस्थापन कसरी भएको छ ?
आठौं महाधिवेशनका बेला मतभेद भएको हल्ला होइन, वास्तविकता नै हो । महाधिवेशनको बेलामा वा त्योभन्दा पहिले दुईलाइनको संघर्ष चलेको थियो । त्यसले हाम्रो पार्टीमा भएको उच्च प्रकारको जनवादलाई नै बताउँछ । उक्त विषयमा महाधिवेशनमा जनवादी तरिकाले व्यापक छलफल भयो र मतभेद भएका विषयमा महाधिवेशनले निर्णय गरेको छ । पहिले पार्टीभित्र मतभेद भएको भए पनि महाधिवेशनले निर्णय गरेपछि त्यसलाई सबै पार्टी सदस्य र समितिले मानेर जानुपर्छ । त्यही जनवादी केन्द्रीयता हो । महाधिवेशनपछि पनि पार्टीका सदस्यलाई पहिलेका मतभेद कायम राख्ने वा नयाँ प्रकारको मतभेद प्रकट गर्ने स्वतन्त्रता रहन्छ तर व्यवहारमा महाधिवेशनका सबै निर्णयलाई मानेर जानुपर्छ ।
पार्टीको विधानमा गरिएको व्यवस्थानुसार आफ्नो कमिटीमा मतभेद राख्न वा उच्च समितिमा आफ्ना मतभेद पठाउने अधिकार रहन्छ । तर तल्ला समिति, असम्बन्धित समिति वा पार्टीबाहिर पनि आफ्ना मतभेद लैजान पाइन्न । त्यसरी पार्टीमा मतभेदको बिचमा एकता कायम गर्ने तथा एकताका बिचमा मतभेद प्रकट गर्ने द्वन्द्वात्मक पद्धति अपनाइएको छ । त्यस प्रकारको द्वन्द्वात्मक एकताको प्रणालीमा पार्टीको अनुशासन वा एकता टिकेको हुन्छ ।
जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार महाधिवेशनका निर्णयलाई, जस्तै पहिले पनि भनियो, सबै पार्टी समिति र सदस्यले दुईवटा महाधिवेशनको बिचमा केन्द्रीय समितिका निर्णयलाई वा उच्च समितिका निर्णयलाई तल्ला समितिले तथा बहुमतका निर्णयलाई अल्पमतले मान्नुपर्दछ । यसका साथै पार्टीको विधान, संगठनात्मक नियम र अनुशासनअन्तर्गत रहेर आफ्ना मतभेद प्रकट गर्ने पार्टी सदस्यको अधिकार सुरक्षित रहन्छ । तर पार्टीको विधान वा नियमको उल्लंघन गरेर मतभेद प्रकट गर्नु अनुशासन विरुद्धको कार्य हुन्छ ।
० महाधिवेशनबाट पारित समग्र नीतिबारे बताइदिनुहुन्छ कि ?
आठौं महाधिवेशनमा पारित समग्र नीतिलाई स्पष्ट गर्नु लामो विषय होला । त्यसकारण एउटा जवाफमा त्यसबारे प्रकाश हाल्नु सम्भव हुने कुरा भएन । तैपनि त्यसबारे संक्षिप्तमा केही प्रकाश हालिने छ । हाम्रो पार्टीले समाजवाद र साम्यवादलाई आफ्ना दीर्घकालीन कार्य ठेगान गरेको छ । नयाँ जनवाद आजको आधारभूत कार्यक्रम वा रणनीति हो । त्यो रणनीति पूरा गर्न सर्वहारा वर्गको पार्टीको नेतृत्व, दीर्घकालीन जनयुद्ध र क्राान्तिकारी वर्गको संयुक्त मोर्चा आवश्यक पर्दछ ।
त्यो रणनीति पूरा गर्न बेग्लाबेग्लै स्थितिको ठोस विश्लेषण गरेर कार्यनीति निश्चित गर्नुपर्ने हुन्छ । अहिलेको स्थितिमा सशस्त्र संघर्ष सुरु गर्नु सम्भव छैन भन्ने हाम्रो निष्कर्ष रहेको छ । तत्कालका लागि शान्तिपूर्ण जनआन्दोलनलाई नै आठौं महाधिवेशनले तत्कालको नीति घोषित गरेको छ । अहिलेको संविधान र गणतन्त्र पुँजीवादी प्रकारका हुन् । त्यसकारण सैद्धान्तिक र राजनैतिक प्रकारले तिनीहरूको विरोध नै हाम्रो प्रधान पक्ष हो तर तात्कालिक रूपमा हामीले तिनीहरूको रक्षा गर्नुपर्ने आवश्यकताका जोड दिएका छौं । संविधानमा समावेश गरिएका संघीयतासहित कैयौं विषयमा हाम्रा गम्भीर मतभेद छन् । हामीले संघीयता खारेजीको आवश्यकतामा जोड दिएका छौं । संसदीय प्रणालीलाई पनि हामीले सैद्धान्तिक र राजनैतिक रूपमा स्वीकार गर्दैनौं ।
तर तात्कालिक रूपमा हामीले त्यसलाई र त्यही प्रकारले संघीयतालाई उपयोग गर्ने निर्णय गरेका छौं । त्यही नीतिअन्र्तगत संसदीय प्रणाली वा संघीयता अन्तर्गतका निर्वाचनलाई उपयोग गर्ने नीति अपनाएका छौं। तर हाम्रो मुख्य जोड संसदीय प्रणालीको भण्डाफोरमा नै हुन्छ । जनआन्दोलन बैधानिक र अबैधानिक दुई प्रकारले अगाडि बढ्न सक्छन् । तर त्यो कुरा बेग्लाबेग्लै अवस्थामा निर्भर हुने कुरा हो । पञ्चायती तानाशाही कालमा शान्तिपूर्ण जनआन्दोलन पनि अबैधानिक रूपमा सञ्चालन गर्नुपर्ने स्थिति थियो ।
चुनावबारे आवश्यकतानुसार बहिष्कार वा उपयोगको नीति अपनाउन सकिन्छ । अहिले हामीले उपयोगको नीति अपनाएका छौं । अहिले हामीले शान्तिपूर्ण आन्दोलन वा चुनावको उपयोगको नीतिमा जोड दिए पनि साथसाथै भूमिगत संगठनको निर्माण, जनवादी क्रान्ति तथा सशस्त्र संघर्षको परिस्थितिको तयार पार्न पनि जोड दिने हाम्रो नीति हुन्छ ।
महाधिवेशनबाट पारित नीतिले पार्टीलाई दक्षिणपन्थी दिशामा लैजाने हल्लाबारे तपाईको भनाइ के छ ?
हामीमाथि दक्षिणपन्थी आरोपको लामो इतिहास छ । झापा आन्दोलनको बेलामा पूर्व माले, पूर्व माओवादी तथा हाम्रो संगठनबाट बाहिर गएका सबै गुट–उपगुटले हाम्रा विरुद्ध दक्षिणपन्थी आरोप लगाउने गरेका थिए । तर जसले हाम्रा विरुद्ध त्यस प्रकारका आरोप लगाए, ती सबैले दक्षिणपन्थी दिशा समात्दै गएको इतिहास सबैका अगाडि छ । अहिले पनि विभिन्न पत्रपत्रिका, अनलाइनमा प्रकाशित लेख वा फेसबुकमा प्रकाशित टिकाटिप्पणी, जसले हाम्रा विरुद्ध दक्षिणपन्थी आरोप लगाउने गरेका छन्, ती मध्ये कोही पनि क्रान्तिकारी आन्दोलनमा संलग्न संगठन, पक्ष वा तत्व होइनन् । उनीहरूले खालि विरोधका नाममा विरोध गरिएको कुरा प्रष्ट छ ।
स्वयम् कुनै प्रकारको आन्दोलनमा भाग नलिइकन अन्य पक्षमाथि त्यस प्रकारको आरोप लगाउनु र त्यसरी आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गर्नु हवाइ तरिका हो । त्यसकारण सैद्धान्तिक वा व्यावहारिक दुवै दृष्टिकोणले त्यस प्रकारको आरोपको कुनै औचित्यता छैन । हाम्रो पार्टीले र पार्टी महाधिवेशनले पनि आधारभूत माक्र्सवादी सिद्धान्त र कुनै खास बेलाको ठोस स्थितिको ठोस विश्लेषणको आधारमा आफ्ना नीति निर्धारित गरेको छ ।
वास्तवमा हाम्रो पार्टीले अहिले मात्र होइन, पहिलेदेखि नै त्यस प्रकारको माक्र्सवादी–लेनिनवादी पद्धति अपनाउँदै आएको छ । त्यसैले इतिहास र व्यवहारले त्यस प्रकारको नीतिलाई सही सावित गर्दै आएको छ र त्यसरी नै आठौं महाधिवेशनका नीति पनि सही सावित हुने छन् भन्नेमा हामीलाई पूर्ण विश्वास छ । व्यवहारका दौरानमा हुने कतिपय कमजोरीलाई बोल्सेभिक स्प्रिटअनुसार आत्मसात गर्दै र सच्याउँदै, जस्तो कि हामीले पनि गर्दै आएका छौं, गर्दै जाने छौं।
महाधिवेशनपछि पार्टी कसरी अगाडि बढिरहेको छ ?
आठौं महाधिवेशनपछि त्यो महाधिवेशनले पारित गरेका नीतिनिर्णयको आधारमा नै पार्टीले अगाडि बढ्ने प्रयत्न गरेको छ । त्यसअनुसार राजनीति र संगठनका क्षेत्रमा कैयौं कार्यक्रम बनेका छन् । राजनैतिक रूपमा गणतन्त्र र राष्ट्रियता, धर्म निरपेक्षता, संघीयता, मजदुर, किसान, महिला, दलित, युवक, विद्यार्थी आदिका समस्या र माग, नागरिकता, भ्रष्टाचार, महंगी आदि विभिन्न विषयमा आन्दोलनका कार्यक्रम बनेका छन् । बेग्लाबेग्लै मोर्चा वा जनवर्गीय संगठनका बेग्लाबेग्लै संघर्षका कार्यक्रम बनेका छन् ।
त्यसका साथै ती कार्यक्रमको माझमा सामञ्जस्यता कायम गरेर एकीकृत रूपमा पनि आन्दोलनलाई सञ्चालन गर्ने प्रयत्न हुने छ । एकीकृत आन्दोलनको अर्थ हो– बेग्लाबेग्लै मोर्चा वा जनवर्गीय संगठनले आफ्ना कार्यक्रमलाई बेग्लाबेग्लै चलाउनुका साथै अन्य मोर्चा वा जनवर्गीय संगठनका मागलाई आफ्नोतर्फबाट समर्थन गर्ने नीति अपनाउने छन् । संगठनात्मक रूपमा भूमिगत र अनुशासित पार्टीको निर्माण गर्न हाम्रो प्रयत्न हुने छ ।
त्यसका लागि सर्वप्रथम पार्टी सदस्यको सैद्धान्तिक स्तर उठाउन प्रशिक्षणको कार्यक्रमलाई अगाडि बढाउने व्यापक कार्यक्रम बनेका छन् । त्यसअनुसार प्रदेश र जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालित भइरहेका छन् । पार्टीसदस्यको सैद्धान्तिक स्तर उठाउन प्रशिक्षणसम्बन्धी पुस्तक–पुस्तिका ठुलो संख्यामा प्रकाशित गर्ने र बिक्रीवितरण गर्ने काम भइरहेको छ । माक्र्सवादी–लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार अनुशासनलाई व्यवस्थित पार्न वा संगठनलाई सुदृढ पार्न पनि योजनाबद्ध प्रकारले काम गरिरहेका छौं ।
नेकपा (मसाल) मा फुट हुँदै छ भन्ने हल्ला किन र कसले चलाइरहेको छ ?
जसले नेकपा (मसाल)मा फुट भएको देख्न चाहन्छन्, उनीहरूले नै त्यस प्रकारको हल्ला चलाइरहेका छन् । त्यस प्रकारको हल्लाले उनीहरूको इच्छालाई नै बताउँछ । त्यति मात्र होइन, हाम्रो पार्टीलाई ध्वस्त नै पार्न चाहन्छन् । अहिले मात्र होइन, धेरै पहिलेदेखि नै मानिसले त्यस प्रकारको भविष्यवाणी गर्दै आएका छन् । यो आम रूपमा थाहा भएको कुरा हो र त्यसैले म त्यसको विवरण दिनपट्टि लाग्दिनँ । त्यसको अर्को पक्ष पनि छ ।
गतकालमा हाम्रो पार्टीमा कैयौंपटक फुट हुने गरेको पनि सत्य हो । डा. केशरजंग रायमाझी, पुष्पलाल, तुल्सीलाल, मनमोहन अधिकारी, माले, निर्मल लामा, माओवादी आदि कैयौं पक्षसित हाम्रो पार्टीको फुट हुने गरेको लामो शृंखला छ । अन्य कतिपय पक्षले पनि हाम्रो पार्टीलाई फुटाउन प्रयत्न गर्दै आएका छन् र कार्यकर्ताको उच्च सतर्कताका कारणले त्यस प्रकारका कैयौं प्रयत्नलाई असफल पार्न हामी सफल हुँदै आएका छौं त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन हामीले सैद्धान्तिक तथा राजनैतिक एकता तथा अनुशासनलाई सुदृढ पार्ने प्रयत्न गर्दै आएका छौं । दुश्मनशक्तिले सधैं पार्टीलाई फुटाउन वा ध्वस्त पार्न षडयन्त्र गर्दै आएका छन् ।
पार्टीको गतकालको इतिहास, आठौं महाधिवेशन र त्यसपछि पनि पार्टीभित्रका घुसपैठिया वा छद्म नामधारीले पनि योजनाबद्ध र संगठित प्रकारले त्यो दिशामा प्रयत्न गरिरहेको कुरा सबैलाई थाहा छ । त्यस प्रकारका सबै प्रयत्नका विरुद्ध सम्झौताहीन र दृढतापूर्वक संघर्ष गरेर पार्टीको अस्तित्वलाई कायम गर्दै आएका छौं र भविष्यमा पनि त्यसो गर्न सफल हुने छौं भन्नेमा हामी विश्वस्त छौं ।
८५ वर्षको उमेरमा पार्टीको नेतृत्व गर्नुहुन्नथ्यो, सक्रिय राजनीतिक जीवनमा पूर्णविराम लगाउनुपर्दथ्यो भन्ने टिप्पणीमा कुनै सैद्धान्तिक र राजनीतिक आधार छन् ?
कसैले कुन उमेरसम्म पार्टीको नेतृत्व गर्न हुन्छ वा हँुदैनभन्दा पनि कुन उमेरसम्म पार्टीमा सक्रिय हुन सक्छ वा सक्दैन वा कसैलाई कुन उमेरसम्म पार्टी र क्रान्तिको सेवा गर्ने अधिकार हुन्छ वा हुँदैन भन्ने प्रश्न मुख्य हो । प्रकृतिले कुनै मानिसलाई सय, पाँच सय वा एकहजार वर्षसम्म जीवित रहने क्षमता प्रदान गरेमा त्यो पूरै जीवनभरि नै कसैले पार्टी र क्रान्तिको काममा सक्रिय भइरहन्छु वा सेवा गरिरहन्छु भन्ने विचार गरेमा त्यसो गर्नुलाई गलत भन्न मिल्दैन ।
जहाँसम्म नेतृत्वको प्रश्न छ, कुनै व्यक्ति जवान नै भए पनि, २५, ४० वा ५० वर्षको भए पनि खालि कम उमेरका कारणले कुनै व्यक्ति नेतृत्वका लागि स्वतः योग्य हुँदैन । त्यसका लागि उसमा सैद्धान्तिक, राजनैतिक वा अनुशासनका दृष्टिकोणले परिपक्वता, दृढता वा निरन्तरता हुनु आवश्यक हुन्छ । तर त्यस प्रकारका क्षमता मात्र पर्याप्त हुँदैन । कुनै क्रान्तिकारी पार्टीमा त्यस प्रकारका क्षमता भएका पार्टी सदस्य ठुलो संख्यामा हुन सक्छन् । कुनै स्तरको सम्मेलन वा महाधिवेशनले कसलाई सम्बन्धित स्तरको समिति वा नेतृत्वमा चुन्ने ? त्यो उनीहरूको अधिकार वा विश्वासको कुरा हो ।
त्यस प्रकारको निर्णय गर्दा कुनै पनि कम्युनिस्ट पार्टीमा उमेरको प्रतिबन्ध हुँदैन । निश्चय नै केही समयपहिले एमालेले त्यसका लागि ७० वर्षको नियम बनाएको थियो । त्यो संसारमा कुनै कम्युनिस्ट पार्टीमा नभएको नियम थियो । पार्टीका मानिसमा नेतृत्वबारे भएको तीव्र महत्वाकांक्षा वा पदलोलुपताका कारणले नै त्यस प्रकारको नियम बनेको थियो । अब उनीहरूले पनि त्यो नियमलाई खारेज गरिसकेका छन् । त्यसरी पार्टीमा पार्टीभित्रको सक्रियतालाई उमेरको सीमाद्वारा बन्देज लगाइनु अवश्य पनि सही कुरा होइन । तर कसैको शारीरिक क्षमता कम भएमा वा उसमाथि पार्टीको विश्वास कम भएमा ऊ स्वतः पार्टीको नेतृत्वबाट हट्छ वा आफ्नो क्षमतानुसार उसले तल्ला समितिमा काम गर्दै जान्छ ।
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणबारे कम्युनिस्ट पार्टीमा कसरी विचार गरिन्छ ?
नयाँ पुस्तामा नेतृत्वको हस्तान्तरणको प्रश्नलाई यान्त्रिक रूपले होइन, सैद्धान्तिक वा संगठनात्मक प्रश्नको आधारमा बुझ्ने प्रयत्न गर्नुपर्दछ । यस सन्दर्भमा सर्वप्रथम स्पष्ट हुनुपर्ने कुरा हो– कोही नयाँ पुस्ताको व्यक्ति हुँदैमा त्यो नेतृत्वका लागि योग्य हुँदैन र त्यसलाई स्वतः नेतृत्वमा लैजानु उचित हुन्छ भन्ने होइन । नयाँ पुस्ताका व्यक्तिलाई उसको सम्पूर्ण दृष्टिकोण, चरित्र वा संगठनात्मक पक्षमाथि समेत ध्यान नदिइकन उसलाई नेतृत्वमा लगियो भने त्यसका कति गम्भीर दुष्परिणाम हुन सक्छन् ? रूसको पार्टीको उदाहरण हाम्राअगाडि छ । स्टालिनको निधनपछि ख्रुस्चेभ नेतृत्वमा आए तर उनले आफ्नो नेतृत्वमा पार्टीमा दक्षिणपन्थी संशोधनवादी विचार ल्याए, जसको परिणामस्वरूप त्यहाँ समाजवादी व्यवस्था र कम्युनिस्ट पार्टीसमेतको विघटन भयो र पुँजीवाद पुनस्र्थापना भयो ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तले नयाँ पुस्ता मात्र होइन, कुनै पनि व्यक्तिलाई नेतृत्वमा पदोन्नति गर्ने प्रश्नमा अत्यन्त सर्तकतामा जोड दिन्छ । कुनै व्यक्तिमा निष्ठा वा इमान्दारितापूर्वक पार्टी र क्रान्तिको सेवा गर्नेभन्दा पनि व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नका लागि पनि नेतृत्वमा पुग्ने प्रयत्न गर्दछन् । कसैमा नेतृत्वका लागि त्यस प्रकारको महत्वाकांक्षा वा पदलोलुपता देखिएमा पार्टी–संगठन वा आन्दोलनमा लामो समयसम्म परीक्षण गरेर नै नेतृत्वमा पदोन्नति गर्ने नीति अपनाउनुपर्दछ । जहाँसम्म हाम्रो पार्टीको प्रश्न छ, हामीले कुनै व्यक्तिलाई पदोन्नति गर्ने बेलामा संगठनात्मक पक्षप्रति विशेष ध्यान दिन्छौं ।
जहाँसम्म नयाँ पुस्ताको प्रश्न छ, उनीहरूलाई पनि पार्टीका विभिन्न स्तरका समितिमा ठुलो संख्यामा पदोन्नति गरिएको छ । यदि त्यसो नगरिएको भए हाम्रो पार्टीमा दुई/चार जना ७० वर्ष नाघेका बृद्धबाहेक कोही पनि हुने थिएनन् । पार्टीको केन्द्रदेखि विभिन्न स्तरका समिति वा विभिन्न मोर्चा वा जनवर्गीय संगठनको सामान्य सदस्य मात्र होइन, ती सबैको नेतृत्वदायी समितिमा पनि ठुलो संख्यामा नयाँ पुस्ताका युवक पाइन्छन् ।
पार्टीमा आफ्नो समर्थक (अराजनीतिक भाषामा ‘हनुमान’) बाहेक अरूको अस्तित्वलाई सहन नसक्ने आरोपबारे के भन्नुहुन्छ ?
यदि त्यस्तो भएको भए पार्टीमा कहिल्यै पनि दुईलाइनको संघर्ष चल्ने थिएन । महाधिवेशनको बेलामा चलेको तीव्र दुईलाइनको संघर्षले पनि पार्टीमा मतभेदको लागि स्वतन्त्रता छ भन्ने कुरा प्रष्ट हुन्छ । पार्टीमा मतभेद प्रकट गर्न पाइन्छ, तर जस्तो कि पहिले नै स्पष्ट गरियो, त्यस प्रकारको मतभेद वा अन्तरपार्टी संघर्ष, पार्टी विधान, नियम वा अनुशासनअन्तर्गत हुनुपर्दछ ।
पार्टीमा त्यसरी अनुशासनलाई पालन गर्ने कार्यकर्ताको ठुलो संख्या छ र त्यही कारणले नै पार्टीले लामो समयदेखि देशको राजनीति वा आन्दोलनमा प्रभावशाली प्रकारको भूिमका खेल्दै आउन सकेको छ । तर जो अनुशासनबारे स्पष्ट छैन र जो अनुशासनमा बस्न सक्दैन, उनीहरूले पार्टीको विधान, नियम वा अनुशासनमा बसेर काम गर्ने पार्टीका कार्यकर्तालाई ‘हनुमान’ ठान्दछन् । त्यो अनुशासनलाई ठिकसित बुझन नसक्ने, पालन गर्न नसक्ने विकृत वा दोषपूर्ण दृष्टिकोण हो ।
पार्टीभित्रको जनवाद र अनुशासनको स्थिति कस्तो छ ?
माथिका विभिन्न प्रश्नको उत्तरमा त्यो धेरै प्रष्ट भइसकेको छ । हामी दावीपूर्वक के भन्न सक्छौं भने नेपालका पार्टीमध्ये नेकपा (मसाल) नै सबैभन्दा व्यवस्थित र अनुशासित पार्टी हो । हाम्रो पार्टीको संगठन र प्रणाली सामान्यतया माक्र्सवादी–लेनिनवादी संगठनात्मक सिद्धान्त, विशेषतः जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता र कामको एकताका सिद्धान्तमाथि आधारित छ । तर त्यसरी पार्टीको संगठन गर्नु वा पार्टीको अनुशासन कायम गर्नु हाम्रा लागि सजिलो छैन ।
विश्वस्तरमा नै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी विचारको प्रभाव बढ्दै जानुका साथै त्यसको असर संगठनात्मक अवस्थामा पनि परेको छ । त्यसको प्रभावस्वरूप माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार संगठनात्मक प्रणालीलाई कायम राख्नु वा अनुशासनलाई सुदृढ राख्नुको सट्टा तिनीहरूबारे बुर्जुवा प्रकारका उदारवादी सोचाइ, प्रवृत्ति बढ्दै गइरहेका छन् । विश्वव्यापी रूपमा र नेपालमा पनि संगठनात्मक क्षेत्रमा देखा परेका त्यस प्रकारको प्रवृत्ति, असरबाट हाम्रो पार्टी पनि बच्न सकेको छैन ।
त्यसको परिणाम हो– अहिले हाम्रो पार्टीमा पनि गम्भीर प्रकारका संगठनात्मक वा अनुशासनसम्बन्धी समस्या देखा पर्ने गरेका छन् । महाधिवेशनपहिले, महाधिवेशनको बेलामा र महाधिवेशनपछि पनि पार्टीभित्रका गोप्यता वा सर्कुलरसम्म सार्वजनिक हुनु, छद्म नामधारीले खुला रूपले नै पार्टीको आलोचना गर्नु वा पार्टीमाथि विभिन्न प्रकारका लाञ्छना लगाउनु एक वा अर्को प्रकारले पार्टीको अनुशासन उल्लंघन गर्दै जानु आदि कुराले अहिले पार्टीभित्र अनुशासन गम्भीर भएको बताउँछ ।
आठौं महाधिवेशनमा पारित संगठनात्मक प्रस्तावमा पनि पार्टीको त्यस प्रकारको स्थितिबारे खुला रूपले प्रकाश हालिएको छ । त्यस प्रकारको स्थितिमाथि नियन्त्रण गरेर माक्र्सवादी–लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार पार्टीलाई सुदृढ र अनुशासित बनाउने कुरामा हामी पूरै प्रयत्नशील छौं ।
बाहिर चल्ने हल्लाले पार्टीको एकतामा कुनै असर परेको छ ?
बाहिर चल्ने हल्लाको जुन कुरा गर्नुभयो, त्यो कुनै नयाँ र अस्वाभाविक कुरा होइन । लेनिनले जनवादी केन्द्रीयताको आधारमा अनुशासित र संगठित पार्टीको अवधारणा अगाडि ल्याएदेखि नै पार्टीभित्रको संगठनात्मक प्रणालीमाथि पार्टी विरोधी तत्वद्वारा हमला हुँदै आएको छ । उनीहरूले एकपक्षीय रूपमा जनवादलाई मात्र देख्छन् र केन्द्रीयता वा अनुशासनको पक्षलाई तानाशाहीको रूपमा विश्लेषण गर्ने गर्दछन् । सामान्यतया मानिसको झुकाव जनवादतिर नै हुन्छ र केन्द्रीयताको पक्ष उनीहरूलाई असह्य र अपाच्य हुन्छ ।
वास्तवमा व्यवहारमा जनवादले केन्द्रीयतामाथि र केन्द्रीयताले जनवादमाथि नियन्त्रण गरेजस्तो र ती दुवैको बिचमा गम्भीर प्रकारको अन्तरविरोध भएजस्तो देखिन्छ । तर तिनीहरूका बिचमा प्रकट रूपमा अन्तरविरोध भएजस्तो देखिए पनि बास्तवमा सार रूपमा तिनीहरूको बिचमा समन्वय हुन्छ, जुन सम्बन्धको आधार द्वन्द्ववाद हुन्छ । जनवादमाथि मात्र एकतर्फी रूपले जोड दिनु निम्न पुँजीवादी चिन्तन हो । मानिसले साधारणतया आफ्नो अधिभूतवादी चिन्तनका कारणले पनि हाम्रो पार्टीको जनवादी केन्द्रीयतामाथि आधारित संगठनात्मक प्रणालीलाई ठिकसँग बुझ्न नसकेर पनि हाम्रो पार्टीभित्रको जनवाद र अनुशासनबारे कैयौँ भ्रम देखा पर्ने गर्दछन् ।
त्योबाहेक बुर्जुवा राजनीतिक पार्टी वा संगठनले जनवादी केन्द्रीयताको सिद्धान्तलाई सिधै अस्वीकार वा विरोध गर्दछन् । आज विश्वव्यापी रूपमा नै कम्युनिस्ट आन्दोलनको स्थिति कमजोर भएको अवस्थामा जनवाद र अनुशासनसम्बन्धी त्यस प्रकारका भ्रामक विचारको क्रान्तिकारी पंक्तिमा पनि केही न केही असर पर्ने कुरा स्पष्ट छ । त्यो अवस्थामा उच्च वा कडा वैचारिक वा संगठनात्मक संघर्षद्वारा नै पार्टीमा जनवादी केन्द्रीयताका आधारमा अनुशासन कायम राख्नु सम्भव हुन्छ ।
महाधिवेशनपछि अनुशासनको विषयमा निकै कडा नीति अपनाएको ‘हाँक प्रकरण’ बाट पनि बुझिन्छ । सार्वजनिक सञ्चार माध्यम कम्युनिस्ट पार्टीको सदस्यका लागि निरपेक्ष स्वतन्त्रताको विषय होइन भन्ने पनि तपाईहरूको नीतिबाट स्पष्ट हुन्छ । यस्ता विषयबारे प्रष्ट पार्नुपर्ने आवश्यकता ठान्नुहुन्छ ?
महाधिवेशनले अनुशासनसम्बन्धी उदारवादी दृष्टिकोणलाई गलत बताएको छ र आलोचना गरेको छ । गतकालमा त्यस प्रकारका गल्ती हुने गरेका छन् । महाधिवेशनको निर्देशनअनुसार त्यस प्रकारका गल्तीलाई सच्चाउने हाम्रो प्रयत्न हुने छ । त्यसको सिधा र स्पष्ट अर्थ यो हो– पार्टीको विधान वा नियमको उल्लंघन गर्ने पार्टी सदस्यमाथि आवश्यकतानुसार कारबाही, पार्टीसदस्यलाई प्रशिक्षित गर्ने र त्यस प्रकारका गल्तीको आवश्यकतानुसार आलोचना वा कारवाही । त्यो सामान्य प्रक्रिया हो र त्यसलाई त्यही अर्थमा बुझ्नुपर्दछ ।
संघर्ष र संगठनको क्षेत्रमा पनि पार्टी फरक ढंगले अगाडि आएको देखियो । जनवर्गीय संगठनले पनि संघर्ष, संगठन र प्रशिक्षणका कार्यक्रम सार्वजनिक गरेका छन् । पार्टीले कुन उद्देश्यका साथ यो गति पक्रिएको हो ?
यसको उत्तर एकदम सिधा र सरल छ । महाधिवेशनपछि यसका नीति, निर्णय वा निर्देशनलाई लागु गर्नु हाम्रो जिम्मेवारी हुन्छ । त्यसअनुसार नै हामीले हाम्रो मोर्चा र जनवर्गीय संगठनले संघर्षका व्यापक कार्यक्रम बनाएका छन् । तिनीहरूलाई सफल पार्ने कुरामा हाम्रो जोड हुनुपर्दछ र हुने पनि छ । त्यसबारे हामी कहाँसम्म सफल हुने छौं ? त्यो कुरा आउने दिनमा नै प्रष्ट हुनेछ । यस सन्दर्भमा एउटा कुरा स्पष्ट हुनुपर्ने आवश्यकता छ । आन्दोलनको सफलता संगठन, सक्रियता र अनुशासनमाथि निर्भर गर्दछ । उक्त प्रश्नमा हामी कहाँसम्म सफल हुने छौं ? त्यसमाथि नै हाम्रो आन्दोलनको सफलता निर्भर गर्ने छ ।
दुर्गा पौडेलमाथि ‘नातावाद’ को धारणाबाट राजनीतिक भूमिका निर्वाह गर्ने स्थानमा पुगेको आरोप छ । के दुर्गाजीको राजनीतिक पृष्ठभूमि नभएर त्यो आरोप लागेको हो ?
यसबारे सर्वप्रथम सैद्धान्तिक रूपले नै स्पष्ट हुनुपर्ने आवश्यकता छ । पार्टीका कुनै कार्यकर्ता वा नेताको नाता परेको कारणले कुनै व्यक्ति पार्टीमा सामेल हुन्छ, पार्टीको कुनै समितिमा चुनिन्छ वा उसलाई कुनै जिम्मा दिनु सही हुन्छ वा हुँदैन ? दुर्गा संगठनमा सामेल नभएर उनले कुनै नोकरीपेशा गरेको भए उनका बारेमा कुनै विवाद हुने थिएन । उनी आलोचित हुनुपर्ने थिएन वा उनका कारणले ममाथि कुनै आरोप लाग्ने थिएन । उनले अन्य कुनै पेशा नअपनाइकन संगठन वा आन्दोलनको काममा लाग्नु नै उनको गम्भीर गल्ती वा अपराध भयो र ?
यदि त्यसरी सोच्ने हो भने पार्टीका सबै सदस्यलाई आफ्ना नाता पर्ने कुनै व्यक्तिलाई पार्टीमा सामेल नगर्नका लागि निर्देशन दिनुपर्ने छ । त्योबाहेक म मात्र होइन, पार्टीका अन्य कैयौं कार्यकर्ता वा नेताका नाता पर्ने व्यक्ति पनि पार्टी वा जनवर्गीय संगठनको विभिन्न समिति, जिम्मेवारी वा पदमा छन् । के त्यसरी नाता पर्ने व्यक्ति सबैलाई पार्टीबाट निष्काशित गर्ने ?
त्यसरी स्पष्ट छ– दुर्गाको प्रश्नलाई लिएर जुन आलोचना वा आरोप लाग्ने गरेका छन्, ती सिद्धान्तहीन, अराजनीतिक वा गलत वा पूर्वाग्रहीयुक्त छन् । उनले करिब साढे तीन दशकदेखि पार्टी वा आन्दोलनमा काम गर्दै आएकी थिइन् । पहिले पनि उनलाई कतिपय संसदीय चुनावमा, जस्तै कि कपिलवस्तु र काठमाडौंमा उम्मेदवार बनाइएको थियो । तर त्यहाँ उनी पराजित भएकी थिइन् । अहिले प्युठानको चुनावमा उनी विजयी बनिन् । उनी चुनावमा पराजित हुँदासम्म उनका बारेमा कुनै विवाद उठेको थिएन । तर अहिले विवाद उठ्छ भने त्यसको निष्कर्ष यो निस्किन्छ– चुनावमा उम्मेदवार बन्नु गलत होइन तर चुनावमा विजय हुनु गलत हो ।
अहिलेको नेकपा र त्यसको सरकारबारे कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेकपालाई हामीले निम्न पुँजीपति वर्गको संगठन बताएका छौं । त्यस प्रकारको वर्गको प्रतिनिधित्व गर्ने संगठनलाई देशभक्त, जनतान्त्रिक र वामपन्थी मान्ने कुरामा कुनै विवाद छैन । त्यसकारण त्यो संगठनको नेतृत्वको सरकार पनि देशभक्त, जनतान्त्रिक र वामपन्थी सरकार हो । तर त्यसको निम्न पुँजीपति वर्गको ढुलमूल, अवसरवादी र सम्झौतापरस्त चरित्र हुन्छ । त्यसको त्यस प्रकारको वर्गीय चरित्र नेकपा वा त्यसको सरकारमा पनि देखा पर्ने गरेको छ ।
त्यसले सामन्त वर्ग, दलाल र नोकरशाही पुँजीपति वर्ग तथा साम्राज्यवादप्रति त्यही प्रकारको नीति अपनाउने गर्दछ । हामीले त्यसको कडा र सम्झौताहीन प्रकारले विरोध गर्दै आएको छौं । अर्कातिर, धर्म निरपेक्षतासमेतका प्रश्नमा त्यसले लिएको सकारात्मक अडानलाई हामीले समर्थन गर्ने गरेका छौं । हामीले आवश्यकतानुसार वर्तमान सरकारका गलत नीति र कार्यशैलीलाई विरोध गर्दछौं । तर देशलाई प्रतिगामी दिशामा लैजाने उद्देश्यले सञ्चालित वर्तमान सरकार विरुद्धको आन्दोलनलाई हामीले समर्थन गर्दैनौं ।
सरकारको सन्तोषजनक कार्य नहुँदा पश्चगामी तत्वले टाउको उठाएर जनआन्दोलनका उपलब्धीमाथि प्रहार गर्दै गइरहेको देखिन्छ । तथ्य के हो ?
यो कुरा सत्य हो, वर्तमान सरकारको गलत नीति र कार्यशैलीका कारणले देशमा जुन असन्तोष बढ्दै गइरहेको छ, त्यसबाट प्रतिगामी शक्तिलाई नै बल पुगिरहेको छ । अर्को शब्दमा वर्तमान सरकारका गलत नीति र कार्यका कारणले गणतन्त्रको आधार कमजोर हुँदै गइरहेको छ । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिले गणतन्त्रसहित जनआन्दोलनका उपलब्धिलाई समाप्त गर्नका लागि योजनाबद्ध र संगठित प्रकारले अभियान चलाइरहेका छन् । यदि यो अभियानलाई सबैभन्दा बढी बल कसैले पु-याइरहेको छ भने वर्तमान सरकारले नै पु-याइरहेको छ । त्यो अवस्थामा देश र जनता, गणतन्त्र वा स्वयं आफ्नो संगठन र सरकारको निम्ति पनि वर्तमान सरकारको नीति र कार्यप्रणालीमा सुधार निर्णयात्मक महत्वको कुरा हो ।
चीनसित नेपालको सम्बन्धको दीर्घकालीन महत्व छ ?
निश्चित रूपले छ । भारत वा चीन दुवै साम्राज्यवादी देश हुन् । तैपनि एकातिर, नेपालको भू राजनीतिक स्थिति, अर्कातिर, भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रियतामा गम्भीर प्रकारको खतराको पृष्ठभूमिमा चीनसितको सम्बन्धले नेपालका लागि सकारात्मक महत्व राख्दछ ।
सी विचारधाराको सन्दर्भमा विश्व कम्युनिस्ट आन्दोलनलाई कसरी व्याख्या गर्नुहुन्छ ?
कथित सी विचारधारा दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यसबाट विश्व कम्युनिस्ट आन्दोलनलाई कुनै मद्दत नपुग्ने कुरा स्पष्ट छ ।
साम्राज्यवादका कारणले नेपालको स्वतन्त्रता र सार्वभौमिकताबारे गम्भीर प्रश्न उठिरहेको सत्य हो ?
त्यो आम रूपमा थाहा भएको कुरा हो । अमेरिकी साम्राज्यवाद युरोपियन युनियन वा भारतीय साम्राज्यवादसमेतका कारणले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा गम्भीर आँच पुगेको छ । त्यो खतरा बढ्दै जाने कुरा पनि स्पष्ट छ । वास्तवमा यो विश्वव्यापी समस्या हो ।
हामीले अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद विरोधी मोर्चा बनाएर तथा नेपालमा पनि साम्राज्यवाद विरोधी शक्तिसित व्यापक एकता कायम गरेर साम्राज्यवाद विरुद्धको संघर्षलाई अगाडि बढाउन पहलकदमी गर्नुपर्दछ । साम्राज्यवादको आधार पुँजीवाद हो । पुँजीवाद गम्भीर संकटमा फसेको छ । त्यो झन्पछि झन् कमजोर हुँदै गइरहेको छ । त्यसकारण आज बाह्य रूपमा साम्राज्यवाद जतिसुकै शक्तिशाली देखिए पनि अन्तमा त्यसको पराजय निश्चित छ ।
