काठमाडौं । स्थानीय तहको निर्वाचन, २०७९ को मतदान सुरु भएको छ । आज शुक्रबार (वैशाख ३० गते) बिहान ७ बजेदेखि देशभर एकै साथ निर्वाचन सुरु भएको हो ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।
स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
बिहान ७ बजे देशभर एकसाथ सुरु हुन लागेको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्।
स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख (मेयर) र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन्। सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन्।
निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ।
निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ। आयोगले निर्वाचनमा ६५ हजार ८६५ स्वयमसेवक पनि खटिएका जनाएको छ। निर्वाचनमा ५ हजार पर्यवेक्षकहरुले पर्यवेक्षण गर्दैछन्।
आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७०, बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन्।
प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगर र ८८ गाउँ गरेर १३७, मधेसमा १ महानगर, ३ उपमहानगर, ७३ नगर र ५९ गाउँ गरी १३६ तथा बागमतीमा ३ महानगर, १ उपमहानगर, ४१ नगर, ७४ गाउँ गरी ११९ पालिकाहरु छन्।
यस्तै गण्डकीमा १ महानगर, २६ नगर र ५८ गाउँ गरी ८५, लुम्बिनीमा ४ उपमहानगर, ३२ नगर र ७३ गाउँ गरी १०९, कर्णालीमा २५ नगर र ५४ गाउँ गरी ७९ तथा सुदूरपश्चिममा १ उपमहानगर, ३३ नगर र ५४ गाउँ गरी ८८ पालिकाहरु छ।
आयोगले प्रदेश १ मा १ हजार १५७, मधेसमा १ हजार २७१, बागमतीमा १ हजार १२१, गण्डकीमा ७५९, लुम्बिनीमा ९८३, कर्णालीमा ७१८ र सुदूरपश्चिममा ७३४ वडाहरू रहेका जनाएको छ।
आयोगले निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र तथा बागमतीमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र तोकेको छ।
यस्तै, गण्डकीमा १ हजार २५३ मतदान स्थल र २ हजार ३०० मतदान केन्द्र, लुम्बिनीमा १ हजार ६२९ मतदान स्थल र ३ हजार ८२ मतदान केन्द्र तोकिएका छन्।
आयोगले कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र तथा सुदूरपश्चिममा १ हजार १३५ मतदान स्थल र २ हजार १०३ मतदान केन्द्र तोकिएको जनाएको छ।
देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्।