काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने भएका छन् । २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी लुम्बिनी आउन लागेका हुन् ।
त्यसक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयले मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ।
लुम्बिनी विश्वविद्यालयका चान्सलर प्रधानमन्त्री रहने व्यवस्था छ।
जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी उत्तर प्रदेशको कुशीनगर हुँदै लुम्बिनी आइपुग्ने कार्यक्रम छ। लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले विशेष कार्यक्रमलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन्।
लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदीबीच संक्षिप्त वार्ता पनि हुनेछ।
नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी तीब्र बनाएको छ। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा मोदी सरिक हुनेछन्।
मोदी पहिलोपटक सन् २०१४ अगस्टमा नेपाल भ्रमणमा आएका थिए। त्यसपछि सार्क शिखर सम्मेलनमा भाग लिन सोही वर्षको नोभेम्बरमा उनी काठमाडौं आए। मोदी तेश्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आएका थिए।
उनको चौथो भ्रमण २०१८ अगस्टमा भयो। नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए।
भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौं आएर बिमस्टेक शिखर सम्मेलनमा भाग लिएका थिए।