काठमाडौं । सर्लाहीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई विष खुवाएको पाइएपछि प्रहरीले चुनाव प्रचारमा हिँड्नेहरुलाई सचेत गराएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार अपील प्रकाशित गरी अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान आग्रह गरेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीद्वारा जारी सूचना जारी गर्दै अपरिचित व्यक्तिले दिएको सगुन वा प्रसाद खाँदा कोही बेहोस् हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले यस्ता घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना भएमा प्रहरीलाई तत्काल खबर गर्न भनिएको छ ।
आइतबार हरिवन नगरपालिका वडा नं ११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तिहाकसहित ५ जना बिरामी परेको घटना सार्वजनिक भएको थियो । बिरामी इस्तिहाक र ओमप्रकाश साहलाई थप उपचारका लागिवीरगन्ज लगिएको छ ।
मोहम्मद रिजवान, शेख आरिफ, पुर्णिमा कार्की र दीलिप खड्काको हरिवनमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको अवस्थामा सुधार हुँदै गएको छ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । घर दैलो अभियानका क्रममा आफ्ना कार्यकर्तालाई विष खुवाएको भन्दै माओवादीले विरोध प्रदर्शन गरेको छ।