काठमाडौँ । पाँचदलीय गठबन्धनले बागी उम्मेदवारी दिएकालाई निस्क्रिय बनाउन थप प्रयास गर्ने भएको छ ।
शुक्रबार बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बताउनुभयो ।
गठबन्धनमा रहेका दलका सचिवालय पदाधिकारी र सदस्यहरु सहभागी बैठकले बागी उम्मेदवारलाई निष्क्रिय गराउनका लागि आवश्यक पहल गर्न सम्बन्धित दलले नेतृत्व समक्ष आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
गठबन्धनले स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन्।
‘स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्दपुर्ण रुपमा सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनीतिक दलहरुबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने,’ बैठकपछि जारी प्रेस नेटमा भनिएको छ।
नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय संयोजक नानु बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका क्रममा गठबन्धन दलहरुबीच असमझदारी सिर्जन भए आपसी समन्वयमा समस्या तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने पनि निर्णय गरेको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय, नेकपा एकीकृत समाजवादीका लक्ष्मण केसी, जनता समाजवादी पार्टी (जसपा) का लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका सचिव पुरी सहभागी हुनुहुन्थ्यो ।