काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा २५ हजार रुपैयाँ भन्दा बढीको कारोबार गर्दा बैंक खातामार्फत गर्न निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३ अनुसार निर्वाचन खर्च सम्बन्धी व्यवस्था पालना गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको हो ।
निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था छ ।
आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने भनिएको छ ।
त्यसैगरी राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने, २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने व्यवस्था छ ।
आचारसंहिता अनुसार उम्मेद्वारले खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्नेछ ।
आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने व्यवस्था गरेको छ ।