काठमाडौं । निर्वाचन आयोगले १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोगले ७२ जिल्लाका लागि पतपत्र छापिसकेको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिनुभयो । यस्तै आयोगले ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरेको छ । बाँकी मतपत्र पनि क्रमशः छपाइ र ढुवानी भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।
बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको बताए । यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ७, उपप्रमुखमा २ हजार १ सय ६, उपाध्यक्षमा २ हजार ४ सय १ जना छन् ।
वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको उनले जानकारी दिए ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ः३० बजेसम्म कम्युटरमा प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ७, उपप्रमुखमा २ हजार १ सय ६, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।’
यस्तै, आयोगले निर्वाचनको समयमा तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ । स्थानीय तह निर्वाचन हुने वैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन र मतदान केन्द्र रहेका विद्यालयहरुमा वैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ।
त्यसैगरी मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत् सबै स्थानीय तहसँग माग गरेको छ।