काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गर्नुभएको हो ।
मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।
खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताउनुभयो ।
उहाँले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सूचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको बताउनुभयो । मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेशन कमिटी गठन गरेको उल्लेख गर्नुभयो । उहाँले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बागमती नदिको पानि शुद्धीकरण गरी ल्याउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिनुभयो ।
उहाँले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गर्नुभएको छ । मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परिक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पार्नुभयो ।