बुटवल । प्युठानको झिमरुक गाउँपालिका अध्यक्षसहित चार वडाअध्यक्ष राजमोलाई दिने गरी गठबन्धन दलबीच सहमति भएको छ ।
पाँचदलीय गठबन्धन लुम्बिनी प्रदेश समितिले शुक्रबार झिमरुक गाउँपालिकामा भागबण्डा गर्दै सहमति कार्यान्वयन गर्न पालिका संयन्त्रलाई निर्देशन दिएको छ ।
प्रदेशमा भएको निर्णय अनुसार गाउँपालिका अध्यक्ष र चार वडा वडाअध्यक्ष राजमोलाई, उपाध्यक्ष र एउटा वडाअध्यक्ष माओवादी केन्द्रलाई र तीन वटा वडाअध्यक्ष नेपाली कांग्रेसलाई दिनेगरी सहमति भएको हो ।
वडामा सबै दलको प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिने सहमति भएको छ । झिमरुकमा स्थानीय पालिकाको समन्वय राष्ट्रिय जनमोर्चाले गर्ने प्रदेश संयन्त्रले पठाएको सर्कुलरमा उल्लेख छ ।
यसअघि पालिकामा पटक पटक भएका छलफल असफल भएपछि दलहरु एक्लाएक्लै चुनावमा जाने निर्णय गरेका थिए भने गठबन्धन दलभित्रैबाट एमालेसँग मिल्ने चर्चा चलेको थियो ।
गठबन्धन केन्द्र र प्रदेशले पाँच दलबाहेकका दलसँग मिल्न नपाइने पनि स्पष्ट पारेको छ ।
