काठमाडौं । पाँचदलीय चुनावी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि उपमहानगरपालिकाको बाँडफाँट टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरपालिकासँगै ११ उपमहानगरपालिकाको बाँडफाँट टुंगो गरेको हो।
सहमतिअनुसार काठमाडौँ, ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुख पद पाएको छ भने वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुखमा उम्मेदवारी दिने भएको छ।
यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरमा पनि कांग्रेसका उम्मेदवारलाई गठबन्धनले सघाउने सहमति जुटेको छ।
उपमहानगरमध्ये जितपुर सिमरा, घोराही र हेटौडामा पनि गठबन्धनले कांग्रेसले अघि सार्ने उपप्रमुखलाई सघाउने भएको छन्।
गठबन्धनबीच नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरसँगै जितपुर सिमरा, घोराही उपमहानगरमा प्रमुख दिने समझदारी जुटेको छ। सहमतिअनुसार माओवादी केन्द्रले धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा उम्मेदवार उठाउने छ।
नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पोखरा महानगरको प्रमुखमा सघाउने भएका छन्। एकीकृत समाजवादीले काठमाडौँ महानगर र हेटौडा उपमहानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ।
गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जको नेतृत्व दिएको छ। जसपाले जनकपुर उपमहानगरमा प्रमुख र कलैया तथा नेपालगञ्ज उपमहानगरमा उपप्रमुखको उम्मेदवार दिने छ।

