काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चुनावी सभामा भाग लिन कपिलवस्तु पुग्नुभएको छ । शुक्रबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आयोजना गर्न लागेको चुनावी सभालाई अध्यक्ष केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय जनमोर्चाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशका विभिन्न भागमा जनसभाको आयोजना गरेको छ ।
शुक्रबार कपिलवस्तुको कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाको संयुक्त कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रमलाई अध्यक्ष केसीसहित बद्रे आलमले सम्बोधन गर्नुहुने छ ।
यस्तै, वैशाख ४ गते विजयनगर नगरपालिका र शिवराज नगरपालिकाको संयुक्त कार्यक्रमलाई राजमो उपाध्यक्ष दुर्गा पौडेलले सम्बोधन गर्नुहुने छ ।
राजमोले आयोजना गरेका चुनावी सभा अन्तर्गत वैशाख ३ गते गुल्मीको कालिगण्डकी गाउँपालिकामा उपाध्यक्ष दुर्गा पौडेलले सम्बोधन गर्नुहुने छ ।
वैशाख ५ गते डोटीको केआईसिंह गाउँपालिकाको वायल बजार, जोराइल गाउँपालिकाको चन्नकट्टे र शीखर नगरपालिकामा हुने सभालाई महासचिव मनोज भट्टले सम्बोधन गर्नुहुने छ ।
यस्तै, वैशाख ४ गते कञ्चनपुरको बेलौरी नगरपालिका र बेलडाडी गाउँपालिकाको संयुक्त सभासँगै कार्यालय उद्घाटन बेलडाडीको चवन्नी बजारमा आयोजना गरिएको छ । सभालाई राजमो केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट र प्रदेश सचिव राजाराम चौधरीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । महेन्द्रनगरमा वैशाख ६ गते हुने सभालाई पनि नन्दराज भट्ट र राजाराम चौधरीले सम्बोधन गर्ने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
यसअघि कैलालीको गोदावरी, अत्तरीया र राजपुरमा सभाहरु सम्पन्न भइसकेका छन् ।
राजमोले आयोजना गरेको चुनावी सभा अन्तर्गत सुर्खेतको लेकबेसी नगरपालिकाको लेखफर्सामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, रौतहट र बारामा राजमो केन्द्रीय सचिव हिमलाल पुरी र नेता धर्मानन्द सुवेदीले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसबाहेक काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नवलपुर, चितवन, रुपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, कास्की, म्याग्दी र पर्वतमा पनि आमसभाका कार्यक्रमहरु राखिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।