काठमाडौं । धादिङमा स्थानीय तहको टिकट वितरणको विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । खनियाबास गाउँपालिका–३ बच्छलामा भएको कुटाकुटमा गाउँपालिका अध्यक्ष घाइते हुनुभएको छ ।
नेपाली कांग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।
कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाउनुभएको छ ।
पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।
आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गर्ने विषयमा झडप भएको हो ।