काठमाडौँ । काठमाडौंको चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ति रोकिँदा यात्रुहरु डेढघण्टासम्म भित्रै अड्किएका छन् ।
केवलकारमा विद्युत् प्रवाह बन्द भएपछि जेनेरेटरमार्फत केवलकार सञ्चालन गर्ने प्रयास भएपनि सम्भव नभएको चन्दागिरी हिल्स लिमिटेडले जनाएको छ।
बुधबार दिउँसो अढाई बजेदेखि चार बजेसम्म पाँच बालबालिकासहित ३७ जना यात्रु केवलकारमै थुनिएका हुन्। उनीहरुको डेढघण्टापछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको छ।
केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको थियो।
अनेक उपाय गर्दा पनि केवलकार सञ्चालन गर्ने प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने लाठोलाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरेका थिए।
यात्रु डेढघण्टासम्म केवलकारमा थुनिए पनि कुनै अप्रिय घटना भने नभएको चन्द्रगिरी हिल्स लिमिटेडले जनाएको छ।