काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । चैत ४ देखि १४ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राखेको ‘चुनावलाई उपयोग गर्ने’ प्रस्तावलाई केन्द्रीय समितिले अस्वीकार गरेको हो ।
यद्यपी आफ्नो पार्टीको प्रभाव क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको एक नेताले बताए । नेकपा पार्टी निर्वाचन आयोगमा दर्ता छैन।
चैत ४ गतेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले चुनावलाई उपयोग गरेर जाने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । ७० जना केन्द्रीय सदस्यहरुमध्ये अधिकांशले चुनाव बहिष्कार गर्नुपर्ने, संसदीय व्यवस्थामा फस्न नहुने धारणा राखेपछि विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो।
कपिलवस्तुमा ११ दिनसम्म चलेको सो पार्टीको बैठकले चुनावबाट संसदीय व्यवस्थालाई जनताको व्यवस्था वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नरहेको निष्कर्ष समेत निकालेको विप्लव निकटको अनलाइन पत्रिका इरातो खबरले लेखेको छ ।
पार्टी बैठकपछि ‘संसदीय व्यवस्थाको स्थानीय चुनावबारे’ शीर्षक निर्णयमा भनिएको छ, ‘सिद्धान्ततः मात्र होइन, व्यवहारतः पनि संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको हित रक्षा गर्ने प्रतिक्रियावादी व्यवस्था हो । यो व्यवस्था रहेसम्म श्रमिक जनता र राष्ट्रले मुक्ति र स्वाधीनता प्राप्त गर्न सम्भव छैन । बरु अनेकौँ राष्ट्रघात र जनघातका घटनाहरू भोग्न अनिवार्य छ । संसदीय व्यवस्थाभित्र आफ्नो शक्तिको सुदृढीकरण गर्न साथै जनतालाई संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामा घुमाउन हरेक चार या पाँच वर्षमा चुनावको आयोजना गरिन्छ । अर्थात् पुँजीपति वर्गले चुनावलाई संसदीय व्यवस्थाको रक्षा गर्ने रणनीतिमा प्रयोग गर्दै आएको छ । यो व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरू हुन् । यसर्थ चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव भएन र छैन ।’
यद्यपी बैठकमा सहभागी नेताहरुले पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका छन् ।
‘हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ,’ सो पार्टीका एक नेताले भने, ‘एमसीसी, राष्ट्रघातविरुद्ध उभिने पार्टीसँग मिलेर उम्मेदवारी दिन्छौँ। नेकपाको नाममा सक्रियतापूर्वक भाग नलिने, तर सम्भव भएका ठाउँमा उम्मेदवारी दिन पार्टीले अनुमति दिएको छ।’
नेकपाले नेपाली कांग्रेस र राप्रपाबाहेकका दलको चुनाव चिन्ह नै प्रयोग गरेर उम्मेदवारी दिने बाटो पनि खुला गरिदिएको ती नेताले बताए ।