टंक अवस्थी, डडेल्धुरा ।
राष्ट्रिय जनमोर्चा डडेल्धुराको चुनावी भेला शनिबार सम्पन्न भएको छ । नवदुर्गा गाउँपालिका वडा नं १ कोटेलीमा सम्पन्न भेलालाई राजमो केन्द्रीय सदस्य एवम सुदूरपश्चिम प्रदेस अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै भट्टले आगामी स्थानीय तहको निर्वाचनमा प्रतिगामी तथा राष्ट्रघातीहरुलाई जनताले तह लगाउनुपर्ने बताउनुभयो । त्यसका लागि राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता उच्च मनोबलका साथ जनतालाई सचेत पार्न गाउँ गाउँमा जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
भेलाले जिल्ला अध्यक्ष चन्द्रदेव विकको संयोजकत्वमा ७ सदस्यीय मुल निर्वाचन परिचालन समिति गठन गरेको छ भने जिल्ला सहसचिव टंक अवस्थी संयोजक रहेको २५ सदस्यीय प्रचार समिति समेत बनाएको छ । यस्तै, विभिन्न स्थानीय तहमा चुनावी प्रचार भेला गर्ने निर्णय गर्दै भेलाका मिति तथा जिम्मेवारी समेत तोकेको छ ।
अध्यक्ष चन्द्रदेव विकको अध्यक्षता, उपाध्यक्ष भोजराज अवस्थीको स्वागत र सहसचिव टंक अवस्थीको सञ्चालनबाट अघि बढेको भेलामा अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य हेमराज भट्ट, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष चेतबहादुर साउद, युवक संघका जिल्ला उपाध्यक्ष हिरा महत लगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।