काठमाडौं । आज नेपाली संगीत जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्मृति दिवस । नारायण गोपालको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली संगीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन्।
बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनी विसं १९९६ असोज १८ गते काठमाडौंमा जन्म भएको थियो । उनको विसं २०४७ मंसिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।
उनले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए। नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबलावादकका रूपमा स्टेज चढेका थिए। करीब १०० बढी गीतमा आवाज भरेका उनका सबै गीत कालजयी छन्। अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् ।
नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र संगीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) बताउँछन् ।
उनी गायक संगीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहेका जानकारहरु बताउँछन्। उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए।
एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनुलगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भरेका छन् ।