बुटवल । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का कार्यवाहक अध्यक्ष लोकराज भुसालले संसदबाट जवर्जस्ती पास भएको एमसीसी खारेज गरिछोड्ने दृढता व्यक्त गर्नुभएको छ ।
बुटवलमा नेकपा (मसाल) सहित विभिन्न दल सम्बद्ध मजदुर संगठनहरुले आयोजना गरेको एमसीसी विरुद्धको प्रदर्शनका क्रममा बोल्दै उहाँले आफूलाई कम्युनिष्ट भन्ने माओवादी र एकीकृत समाजवादीले एमसीसी पास गर्न ‘व्याख्यात्मक घोषणा’ को खोल ओढेर लाजमर्दो काम गरेको टिप्पणी गर्नुभयो ।
भुसालले राष्ट्रघाती एमसीसी सम्झौता राष्ट्रिय स्वाधिनतामाथि सौदाबाजी भएकोले बिनासर्त खारेज गर्नुको विकल्प छैन भन्नुभयो । उहाँले राष्ट्रघाती एमसीसी सम्झौता अमेरिकी साम्राज्यवादको सुरक्षा रणनीति अन्तर्गत हिन्द प्रशान्त क्षेत्रलाई घेराबन्दी गर्न ल्याइएको हस्तक्षेपकारी परियोजना भएको तर विकासको आवरण दिइएको हुँदा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता एवम् असंलग्न परराष्ट्र नीति विपरित छ भन्नुभयो।
‘यसले नेपालको प्राकृतिक सम्पदा जल खानीमाथि नियन्त्रण, बौद्धिक सम्पत्ति माथि कब्जा, नेपाललाई चीन विरोधी अखडा बनाउने जस्ता कुत्सित मनसाय बोकेको छ’ उहाँले भन्नुभयो, ‘कांग्रेस शुरूआती अवस्थाबाटै राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा रहनु वर्गीय चरित्र अनुसार स्वाभाविक होला । तर आफूलाई राष्ट्वादी वताउने माओवादी, एकीकृत समाजवादी पार्टीले कथित व्याख्यात्मक टिप्पणीको आवरणमा संसदबाट राष्ट्रघाती सम्झौता अनुमोदनक गराउने काम देशघाती कदम हो ।’
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी ट्रेड युनियन महासंघ प्रदेश सयंजक भुवन सेञ्चुरी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूक बहादुर पराजुली, अखिल नेपाल किसान महासंघ प्रदेश सदस्य लक्ष्मी कान्त पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव श्याम सेन्चुरीलगायतले सम्बोधन गर्नु भएको थियो ।