केरसिंह अदै, तौलिहवा ।
कपिलवस्तु जिल्लाको वनकट्टामा २०७८ फागुन ३० गते मजदुर सङ्गठनद्वारा एम.सी.सी. खारेज गर्न दबाबस्वरूप विरोधसभा सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष दिनेशकुमार थारूको अध्यक्षतामा सम्पन्न सभालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष केरसिंह अदैले सम्बोधन गर्दै वर्तमान सरकारले मजदुरहरूको सीमित अधिकारलाई पनि कुण्ठित गरेको, हायर एन्ड फायरको नीति, ठेकदार प्रथाले मजदुरहरूको कुनै ठाउँमा कामको ग्यारेन्टी नभएको बताउनुभयो ।
उहाँले राष्ट्रघाती एम.सी.सी. नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा भएको, भविष्यमा गुलाम बन्ने, युद्धको रणभूमि बन्ने भएको हुँदा यसलाई खारेज गर्न सम्पूर्ण देशभक्त नेपालीहरू एक भएर सङ्घर्षमा लाग्नु पर्ने बेला आएको बताउनुभयो ।
सभामा नेकपाका शिवराज नगर कमिटीका सेक्रेटरी पावेलले पनि राष्ट्रघाती एम.सी.सी. विरुद्ध मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन महेश चौधरीले गर्नुभएको थियो ।
सभाअघि, वनकट्टामा एम.सी.सी. विरुद्ध नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए ।