मोरङ । मोरङमा डेढ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २५ वर्षीय अजय चौधरी र उनका दाइ २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी–८ स्थित घरमा दिउँसो खेल्दै गरेकी बालिका अचानक हराएकी थिइन् । त्यही साँझ साढे ६ बजेतिर घरबाट करिब डेढ सय मिटर टाढा सुन्दरहरैचा ७ गणेशपुरमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
वनमारा र बयर घारीमा अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उपचारका लागि गछिया स्थित स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुने भन्दै थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा शनिबार अस्पतालले मृत घोषणा गरेको थियो ।
बालिकाको बलात्कारपछि हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । कपडा खोलिएको अवस्थामा फेला परेकी उनको योनीमा रगत देखिएको प्रहरीले जानकारी दिएको छ । करणीपछि बियरको बोतलले टाउकोमा प्रहार गरेर छाडेको प्रहरीले जनाएको छ ।
बालिकालाई बालुवा चाल्ने काम गर्ने दाजुभाइ अजय र मिथुनले बलात्कार गरी बियरको बोतलले टाउकोमा हानेर झाडीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।