दिपेन्द्र परियार, बागलुङ ।
बरेङ गाँउपालिका ३ मा राष्ट्रिय जनमोर्चाको वडा स्तरीय भेला सम्पन्न भएको छ ।
बाटाकाचौरको साग्दिमा सम्पन्न वडा भेलाको उद्घाटन राजमो बाग्लुङका जिल्ला सचिवालय सदस्य तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नुभयो ।
भेलाले पृथ्बी बहादुर पुनको अध्यक्षतामा २१ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मन बहादुर पुन, सचिवमा पूर्ण परियार, सहसचिवमा हर्क बुढाथोकी र कोषाध्यक्षमा एमुना खत्री चयन हुनुभएको छ । भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
कार्यक्रममा बोल्दै बरेङ गाँउपालिकाका अध्यक्ष शर्माले अहिलेको राज्य व्यवस्थाबाट जनताका सबै समस्या समाधान नभएता पनि यो व्यवस्थाको उपयोग गरेर त्यहाँ भित्र हुने अनियमितता, भष्ट्राचार र घुसखोरी जस्ता गलत कृयाकलापको जनता सामु भण्डाफोर गर्नका लागी पार्टिले निर्वाचनको उपयोग गरेको बताउनुभयो ।
बरेङको हकमा राष्ट्रिय जनमोर्चा पहिलो शक्ति भएको र जनमोर्चालाई कमजोर बनाउन बिपक्षीहरुले केही ब्यक्तिलाई भौतिक वस्तु जस्तै खरिद बिक्री गर्न थालेको बताउनुभयो ।
स्थानीय सरकार चलाएको यो ५ वर्षमा राष्ट्रिय जनमोर्चाले बरेङ गाँउपालिकाका कार्यहरु गण्डकी प्रदेशमै उत्कृट रहेको बिपक्षी पार्टीले पनि स्वीकारेको भन्दै कार्यकर्तालाई आफ्नो शिर उच्च पारेर पार्टीका नीति, कार्यक्रम र योजनाहरु जनताको बिचमा लिएर जान आग्रह गर्नुभयो ।
केही थान बल र जालि दिएर बर्षौ पहिले पार्टि प्रबेस गराएका एउटै ब्यक्तिलाई पटक पटक टिका लगाएर नेकपा एमालेका नेताले जनतामा झुटो भ्रममा पारेको शर्माको भनाई छ ।
कार्यक्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भूमिका र कार्यहरुको बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । छलफलमा सहभागीहरुले उठाएका विषयमा जनप्रतिनिधीहरुले जवाफ दिएका थिए ।