रिसव आचार्य, तौलिहवा ।
अखिल (छैठौं), विप्लव निकट अखिल (क्रान्तिकारी) र वैद्ध निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुको संयुक्त आयोजनामा पिपरामा एम.सी.सि. विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
२०७८ फागुन २६ गते कपिलवस्तुको जनता मावि पिपराबाट जुलुस सुरु भई पिपरा परिक्रमा गरी पिपराचोकमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा अखिल (छैठौं) लुम्बिनी प्रदेश सदस्य विमल खरेल, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान क्षेत्री र अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष दिलबहादुर चुदाराले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँहरूले राष्ट्रघाती एम.सी.सी. लाई संसद्मा चोर बाटोबाट कथित व्याख्यात्क घोषणाको सङ्ज्ञा दिएर संसद्बाट पारित गरे पनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एम.सी.सी. को विरुद्ध विद्यार्थीहरूले निरन्तर सङ्घर्ष गर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले संसद्लाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो बनाएको आरोप लगाएका थिए ।
नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन सरकारलाई चेतावनी दिएका थिए ।
उनीहरूले प्रविधिमैत्री शिक्षा लागु गर्नका लागि सरकारलाई ध्यानाकर्षण पनि गराएका छन् ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य, जिल्ला अध्यक्ष सन्जिला बुढा, सचिव टिना अदैलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सदस्य सपना खनालले गर्नुभएको थियो ।
उपस्थित विद्यार्थीहरूले देश र राष्ट्रका निम्ति आफ्नो रगतको खोला बगाउनसमेत तयार रहेको बताएका थियो ।
कार्यक्रममा ५०० बढी विद्यार्थीहरूको उपस्थित रहेको थियो ।
