प्यूठान । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका वार्ड नं ७ नारिकोटमा एमसीसीविरुद्ध विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष वोमबहादुर खत्रीले हाम्रा पूर्वजहरूले लडेर बचाएको नासोलाई अमेरिकी दलालहरूले शक्तिराष्ट्रको रणभूमि बनाउन खोजेको दावी गर्नुभयो । यो तल्लो दर्जाको राष्ट्रघात हो भन्दै एमसीसी देशको लागि दूर्भाग्य सावित हुने भएकोले यसको खारेजीको विकल्प नभएको बताउनुभयो।
आठ दलीय संयुक्त कार्यक्रम व्यापकरूपमा सफल पार्नुपर्ने जरुरी रहेको भन्दै नेता खत्रीले जनताको संघर्षको अगाडि कुनै पनि तानाशाह टिक्न नसकेको इतिहास रहेको बताउनुभयो । संयुक्त कार्यक्रम महत्त्वपूर्ण भए पनि फाल्गुन १९ र २२ गते सम्म राजमोले जिल्ला ब्यापी एकल आन्दोलन गरिरहेको जानकारी दिनुभयो ।
एकल आन्दोलनको बेग्लै र विशेष महत्त्व हुने भएकोले कार्यकर्ताले यसबाट ध्यान हटाउन नमिल्ने बताउँदै आगामी स्थानीय निर्वाचनमा त्यही अनुसार तैयारी गर्न आव्हान गर्नुभयो । शनिबार राजमोको भृंग्री र बरौलामा पनि कार्यक्रम भएको थियो ।
कार्यक्रममा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश सांसद तारा जिसीले सम्बोधन गर्दै प्रदेशबाट आफ्नो पहलमा विनियोजन भएका योजनाहरूको जानकारी दिनुभयो । विकासमा क्वालिटीको कमि भएको औँल्याउँदै कहाँ कसबाट भएको छ त्यसको जानकारी र सहकार्य गरे त्यसलाई केही हदसम्म भएपनि नियमन गर्न सकिने बताउनुभयो । महिलाका समस्या धेरै भएको उल्लेख गर्दै फाल्गुन २४ गते ठूलावेशीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय महिला दिवसमा सहभागी हुन अनुरोध गर्नुभयो ।
नेकपा (मसाल) का प्यूठान जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले नारिकोट कम्युनिस्टहरूको पुरानो उत्गमस्थल स्थल भएको र यहाँबाट धेरै सिक्ने पाइने भन्दैत्यही रूपमा संगठन ब्यवस्थित गर्न कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य नारायण जिसी र जिल्ला सदस्य भरत केसीले पनि सम्बोधन गर्नु भएको थियोे ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य बरूणध्वज मल्ल, गौमुखी पालिका सदस्य श्याम बहादुर केसी, अनेमसंघ गौमुखी पालिका सदस्य कल्पना कुँवर र वार्ड कमिटी सदस्य तितला पुरी, अखिल नेपाल शिक्षक संघ गौमुखी पालिका कोषाध्यक्ष बल बहादुर सुनार, राजमो वार्ड समिति सदस्यहरू गोविन्द पुरी, रेगम पुरी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डिगढ नगर समितिका सदस्य वेगम कुँवरको पनि आतिथ्यता रहेको थियोे ।
राजमो वार्ड उपाध्यक्ष हुकुम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाको सञ्चालन वीर बहादुर केसी र स्वागत राजमो वार्ड जनप्रतिनिधि ज्ञान बहादुर कुँवरले गर्नु भएको थियोे ।