काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदले एमसीसी पास गरेर नेपालमा अमेरिकालाई आफ्ना योजना लागू गर्न बाटो खोलिदिएको बताउनु भएको छ।
शुक्रबार ८ दलले राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता गजुरेलले आफ्ना साम्राज्यवादी योजना नेपालमा लागू गर्न अमेरिकालाई अब सहज हुने धारणा राख्नुभयो।
एमसीसी पास नहुँदासम्म अमेरिकीलाई नेपालमा पस्ने र आफ्ना कुरा लागू गर्ने हक नभएपनि अब भने बाटो खुलेको उहाँको भनाई थियो।
‘
यो भन्दा अगाडि अमेरिकालाई नेपालमा आफ्ना साम्रज्यवादी योजना लागू गर्न सहज थिएन’ उनले भने, ‘संसदले एमसीसी पास गरेर अब उनीहरुलाई नेपालमा आफ्ना योजना लागू गर्न बाटो खुला गरिदिएको छ।’
नेता गजुरेलले देशमा एमसीसीविरुद्ध अहिले राँको दन्किरहेको र त्यसले साम्राज्यवादलाई जलाएर छोड्ने चेतावनी पनि दिनुभएको छन्।
एमसीसीविरुद्ध आफूहरुले सुरुमा कार्यक्रम गर्दा झिल्कोको रुपमा थोरै मानिसहरु भेला भएर गर्ने गरिएको तर, अहिले गाउँ गाउँका जनता एमसीसीविरुद्ध आन्दोलित भएको उहाँले बताउनु भयो।
‘हामीले सुरुमा एमसीसीविरुद्ध कार्यक्रम गर्दा सानो झिल्कोको रुपमा थोरै मान्छेका बिचमा गर्ने गरेका थियौँ। तर अहिले यो राँको बनिसकेको छ’ उहाँले भन्नुभयो, ‘अब यो राँकोले साम्राज्यवादका पक्षधर, साम्राज्यवादका दलालहरुलाई खरानी पार्नेछ।’
उहाँले एमसीसी खारेज गर्न सकिने र गर्नेपर्ने बताउनु भयो।‘तर यो सजिलै खारेज हुँदैन। जती दर्ता गर्नभन्दा अगाडि थियो, त्यति सजिलो छैन’ उहाँले भन्नुभयो।