तौलिहवा । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) सहितको एम.सी.सी. विरुद्धको संयुक्त मोर्चाले कपिलवस्तु जिल्लामा बन्द गरेपछि २०७८ फागुन १६ गते साँझ ६ बजे जिल्लाको चन्द्रौटा र जितपुरमा कोणसभा सम्पन्न गरेका छन् ।
चन्द्रौटाको सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै र नेकपाका नेता बादलले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा उहाँहरूले जनभावना विपरीत राष्ट्रघाती एम.सी.सी. संसद्बाट पास गर्नु नेपालका लागि गम्भीर राष्ट्रघात भएको बताउँदै त्यसलाई खारेज गराई छाडने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य ज्ञानीराम पुरीले गर्नुभएको थियो ।
त्यस्तै, जिल्लाको ४ नं. जितपुरमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासे, नेकपा विप्लवका नेता सङ्गम र नेकपा (क्रान्तिकारी माओवादी) का नेता कमल उप्रेतीले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन गणेश पौडेलले गर्नुभएको थियो ।
४ नं. जितपुरमा व्यापक प्रहरी परिचालन गरिएको थियो भने चन्द्रौटाको बन्द पूर्ण रूपमा सफल भएको थियो ।