खलङ्गा । संसद्बाट एम.सी.सी. पारित गरेको विरोधमा नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले २०७८ फागुन १६ गते सोमबार गरेको नेपालबन्दको प्रभाव प्युठानमा देखिएको छ ।
आइतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संसद्बाट एम.सी.सी. पारित गरेकाले विरोधस्वरूप नेपालबन्दको आयोजना गरेको जनाएको थियो ।
बन्दकर्ताहरू जिल्लाका बजार, चोक तथा विभिन्न स्थानमा सडक अवरोध गरी दिनभर बसेका थिए । बन्दको प्रभावले प्युठानबाट लामो तथा छोटो दुरीका सवारी साधन चलेका थिएनन् । ग्रामीण क्षेत्रबाट सदरमुकाम तथा अन्य बजार आउजाउ गर्ने सवारी साधनसमेत चलेका थिएनन् । गन्तव्यमा हिडेका यात्रुहरू यातायात रोकिँदा पैदल जानुपरेको यात्रुले बताएका छन् । स्थानीय बजार प्रायः बन्द नै थिए । बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बजार क्षेत्रमा बाक्लो गस्ति बढाएको थियो ।
नेपाली जनताको विरोध र सङ्घर्षको बाबजुद एम.सी.सी. संसद्बाट पारित गर्न देउवा सरकार र संसद्मा भएका मुख्य राजनैतिक दलहरू लागेको विरोधमा नेपालबन्दको घोषणा गरिएको अखिल नेपाल युवक सङ्घ प्युठानका अध्यक्ष कमल पौडेलले बताए ।
बन्दमा जनताले देखाएको सहानुभूतिले पनि आम जनता एम.सी.सी. को विरुद्धमा रहेको उनको भनाइ थियो । प्युठानको व्यापारिक केन्द्र बाग्दुला बजारका अधिकांश व्यवसायीहरूले पनि बन्दको समर्थनमा पसल व्यवसायसमेत स्वतःस्फूर्त रूपमा बन्द गरेका थिए । बन्दमा कुनै अप्रिय घटना नभएको बन्दकर्ताले जानकारी दिए ।