काठमाडौँ । संसद्बाट विवादित एम.सी.सी. पास भएपछि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित प्रदर्शनकारीले उग्र प्रदर्शन गरेपछि प्रशासनले वीरेन्द्रनगरमा कफ्र्यु आदेश जारी गरेको छ ।
संसद्बाट एम.सी.सी. पास भएको विरोधमा २०७८ फागुन १६ गते सोमबार साँझ भएको प्रदर्शनले उग्र रूप लिएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगर नगर क्षेत्रमा भोलि (मङ्गलबार) साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
प्रदर्शनकारीहरूले सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी गरेका छन् भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा ढुङ्गामुढा गरेका छन् ।
आक्रोशित प्रदर्शनकारीले एउटा प्रहरी बिटमा समेत आगजनी गरेका छन् ।
पार्टी कार्यालय र प्रहरी बिटमा लगाइएको आगो प्रहरीले निभाएको छ । समयमै आगो नियन्त्रणमा लिएका कारण ठुलो क्षति भने नभएको प्रहरीले जनाएको छ ।
