जनकपुरधाम । जनकपुर– जयनगर रेल आज (आइतबार) देखि सञ्चालनमा आएको छ । परीक्षणका रुपमा रेललाई आजदेखि दैनिक एक पटक खाली गुडाउन थालिएको हो ।
नेपाली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि यात्रु बोकेर रेल नियमित सेवा सञ्चालन गर्ने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । तबसम्म ‘ड्रायरन’ गर्न रेल यात्रु बिना नियमित चल्ने उहाँको भनाई छ ।
२ असोज २०७७ मा भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरी तामझाम सहित ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको थियो।
‘ड्रायरन’ गर्नाले लिकमा पशु छाडा छाड्ने, मान्छेहरु जथाभावी गएर बसिदिने, बाटो काट्ने जस्ता समस्या समाधान हुने र रेल चल्न थाल्यो भनेर सर्वसाधारणमा सचेतना फैलिने महाप्रबन्धक झाको भनाइ छ ।
रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ । अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी खटाइएको छ।