पोखरा । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै बुधबार पोखरामा संयुक्त विरोध सभा सम्पन्न भएको छ ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश इन्चार्ज शंकर बरालले एमसीसी अमेरिकी साम्राज्यवादीको लगानी भएको बताउनु भयो । उहाँले लगानीकर्ताले जुनसुकै समयमा पनि आफ्नो लगानी उठाउनको लागि नेपालमाथि हस्तक्षेप गरेर चीनलाई हान्ने रणनीति बनाउनेछ भन्दै फलस्वरूप चीन पनि प्रतिरोधमा उत्रिने बताउनुभयो ।
नेपाल भोलिको दिनमा रणभूमी बन्ने भएकाले यो परियोजना कुनै पनि हालतमा पास गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाजको तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, नेकपा माओवादी केन्द्र समाजवादीका नेता भोजराज त्रीपाठी, नेकपा कास्कीका सेक्रेटरी गोकुल अधिकारी, नेकपा (मसाल) कास्किका प्रवक्ता चन्द्र बहादुर केसी लगायत वक्ताहरुले सम्बोधन गर्दै एमसीसी पास भए देश नरहने बताउनु भयो । उहाँहरुले एमसीसी राष्ट्रघाती तथा नेपाली सार्वभौम सत्ताको विरुद्ध भएको भन्दै खारेजीको माग गर्नुभयो ।
देशभक्त जनतन्त्रिक मोर्चाका नेता नेत्र रानाभाटको सञ्चालनबाट अघि बढेको कार्यक्रममा राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), नेकपा माओवादी केन्द्र, समाजवादी, नेकपा क्रान्तिकारी, नागरिक समाज, नेपाल कम्युनिस्ट पार्टी, नेपाल वैज्ञानिक समाजवादी लगायत विभिन्न दल र मोर्चाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।