काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार मोमिना खातुनले आफू राष्ट्रिय जनमोर्चामै रहेको प्रष्ट पार्नुभएको छ ।
फुटपरस्त तत्त्वहरूले माघ १५ गते कथित भेला गरेर खातुनको नामसमेत केन्द्रीय समितिमा राखेकोमा उहाँले यस्तो प्रष्टीकरण दिनुभएको हो ।
२०७८ माघ १६ गते प्रेसवक्तव्य जारी गर्दै उहाँले आफू राजमोको सल्लाहकार पदमा रही कामकाज र जिम्मवारी पूरा गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका विरुद्ध भ्रम सिर्जना नगर्न फुटपरस्त तत्त्वहरूलाई चेतावनीसमेत दिइएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“म मोमिना खातुन राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार पदमा रही कामकाज र जिम्मेवारी पूरा गरिरहेकी छु ।
हिजो मिति २०७८ माघ १५ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको नामबाट कथित भेलाले मेरो नाम फुटपरस्त केन्द्रीय समितिमा नाम राखेकोमा मेरो गम्भीर आपत्ति छ । यस्तो भ्रामक कार्य नगर्न चेतावनीसमेत दिन्छु ।
म राष्ट्रिय राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्तप्रति प्रतिबद्ध रहेको जानकारी गराउन चाहान्छु । पार्टीलाई विभिन्न प्रकारका भ्रम सिर्जना गरी फुट र विभाजन गर्ने कदमलाई रोक्न सबै साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।”
