काठमाडौं । काठमाडौं जिल्ला अदालतले बसपार्कमा भएको सामुहिक बलात्कार प्रकरणमा तीन जना होटल सञ्चालकसँग जनही तीन लाख रुपैयाँ धरौटी माग गरेको छ ।
पाँचथर सप्तकोसी गेस्टहाउसका सञ्चालक जानुका घिमिरे पोख्रेल, आयुष गेष्टहाउसकी सञ्चालक मन्जु खरेल न्यौपाने र फेमिली पुजा गेस्टहाउसका सञ्चालक द्रोणचार्य पौडेलसँग अदालतले धरौटी मागेको हो ।
सुर्खेतकी एक महिलाले बसपार्कका तीन वटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् । मजदुरी गर्न गत पुस १२ गते काठमाडौं आएकी ती महिलाले त्यही रात र भोलिपल्ट आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।
उनको जाहेरीपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी महिलालाई करणी गर्ने ९ युवा र तीन वटा होटलका सञ्चालकलाई मुद्दामा प्रतिवादी बनाएको थियो ।
बलात्कारको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो। वैदेशिक रोजगारीको लागि काठमाडौं आएका ती युवाले बसपार्कमा सामुहिक बलात्कार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।