मोरङ । मोरङमा एक महिला अपहरण र सामुहिक बलात्कारको शिकार भएकी छन् । बलात्कार पीडित ती महिलाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
गत शुक्रवार मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा सामूहिक बलात्कारमा परेकी ३१ वर्षीया ती महिलाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
बलात्कारको क्रममा यौनाङ्ग क्षतबिक्षत भएकाले महिलाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
पीडित महिलाकी बहिनीले प्रहरीमा दिएको जाहेरी अनुसार खोटाङको दिक्तेल घर भई मोरङको सुन्दर हरैँचाका गछियास्थित बहिनीको घरमा बस्दै आएकी उनी शुक्रवार इटहरीबाट गछिया घर जाँदै थिइन् । त्यसैक्रममा लिफ्ट दिने भन्दै एउटा मारुती भेनमा आएका तीन जना पुरुषले उनलाई सिधै बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्याएका थिए ।
त्यहाँ महिलालाई केही खानेकुरा दिइएको थियो । त्यसपछि बेहोस भएकी महिलालाई होटलको एउटा कोठामा थुनेर तीन जनाले रातभर पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।
सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका– ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठ पक्राउ परेका हुन्। घटनामा संलग्न एक जना भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।