खिमराज चालिसे
यताको कुरा उता गर्ने मान्छेलाई चाप्लुस भन्छन्।
ठूलाको अघिपछि मात्र लाग्ने चाटुकार हुन्छन्।।
समाजलाई ढुल्मुलाउन पर्दाभित्र खेल खेल्छन्।
ठूलासँग साख्खै हुँदै इमान्दारको जरो खन्छन्।।
आफ्नो प्रसंशा आफैँ गर्ने सधैँ मञ्च पाउँ भन्ने।
इतिहासको बखान गर्दै ठूलो मान्छे आफैँ बन्ने।।
काम भन्दा धेरै गफ छ जता ततै सुरुङ खन्छ।
छद्मभेषी उसको रुप सबको प्यारो हुन्छु भन्छ।
अवसर आउँदा अघि देखाउने प्रयास गर्छ।
पाउ पर्ने गुण नै हुन्छ सोझो बन्ने प्रयास गर्छ।।
थोरै ज्ञान उसको हुन्छ धेरै उसले चाप्लुसीले भर्छ।
जिम्मा दिन पर्दैन उसलाई आफैँ अघिपछि गर्छ।।
सानो ठूलो भत्काएर आफ्नै झोली भर्न खोज्छ।
खुसुखुसु कुरा बोक्छ समाज उसले तोड्न खोज्छ।।
भ्रमित कुरा गर्दै हिँडने चाप्लुस स्वाभाव हुन्छ।
लुक्दै छुप्दै चाप्लुसको अघि बढ्ने स्वभाव हुन्छ।।
बनि बनाउ घर भत्काएर झुप्रो ठडाई दिन्छ।
स्वच्छ समाजलाई भत्काएर गन्दगी भरिदिन्छ।।
सुन्दर सपना देखाउँछ चारै तिर गन्दा भर्छ।
यथार्थलाई लुकाउँछ समाज नै भ्रमित गर्छ।।