काठमाडौं । राजनीतिक दलका नेताहरुले निर्वाचन आयोगले प्रस्तावित गरेको बैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक जेठ ५ गते अघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरुले पदवहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जनाएको हो ।
आयोगले सोही व्यवस्था बमोजिम वैशाख १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको जानकारी गराएको थियो ।
स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुको विकल्प नरहेको भन्दै राजनीतिक दलहरुलाई आयोगले सचेत गराएको थियो । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै माघको पहिलो हप्ताभित्रै मिति तोक्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रमुख आयुक्त थपलियाको भनाईबारे जानकारी दिँदै आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भन्नुभयो, ‘प्रमुख आयुक्तज्यूले तीनवटा महत्वपूर्ण विषय राख्नुभएको छ । स्थानीयढ तहको निर्वाचनको विकल्प छैन । समयमै निर्वाचन गर्नुपर्छ ।
कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ। त्यसो भएको हुनाले छिट्टै निर्वाचनमा जानुपर्छ। माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा हुनुपर्छ भन्ने उहाँको ठम्याई थियो ।’
आयोगका अनुसार स्थानीय तहका पदाधिकारीको म्याद थप्न पनि पाईंदैन र उसले गर्ने काम अरु कसैले गर्न पनि पाउँदैनन् ।