काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन मिति सरेको छ । आगामी माघ १५ र १६ गते तय गरिएको सातवटै प्रदेश सम्मेलनको मिति पछाडि धकेलिएको हो ।
अब सम्मेलन फागुन ६ र ७ गते हुनेछ । अध्यक्ष चित्रबहादुर केसीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चाका सातवटै प्रदेशहरुको प्रदेश सम्मेलन माघको १५ र १६ गते तोकिएकोमा कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारीको कारणले गर्दा प्रदेश सम्मेलनहरु आगामी फागुन ६ र ७ गते गर्ने निर्णय भएको छ ।’
बुधबार बसेको राजमो केन्द्रीय सचिवालयको बैठकले अहिलेको अवस्थालाई ध्यान दिँदै सम्मेलन केही दिन पर सारेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो । राजमोले प्रदेश सम्मेलनको मितिबाहेक अन्य निर्णय पूर्ववत रहेको महासचिव भट्टले बताउनुभयो ।
‘अहिले कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेको छ । स्वास्थ्य मापदण्डलाई ख्याल गरेर सम्मेलनको मिति केही दिन पर सारेका छौँ’ महासचिव भट्टले भन्नुभयो, ‘त्यतिबेला कोरोना संक्रमण घट्दै जाने आकलन गरेर सम्मेलन फागनुमा गर्ने निर्णय गरिएको हो ।’
राजमो केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार सातवटै प्रदेशमा एकैपटक सम्मेलन आयोजना हुने छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ ! संघीयता खारेज गरौँ, … प्रदेशको ऐतिहासिक प्रथम सम्मेलन भव्य रुपमा सफल पारौँ !!’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।
जस अनुसार पोखरामा हुने गण्डकी प्रदेश सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ । यस्तै, बागमती प्रदेशमा कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, कर्णाली प्रदेशमा उपाध्यक्ष जनकराज शर्मा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल, सुदूरपश्चिम प्रदेशमा महासचिव मनोज भट्ट, प्रदेश २ मा सचिव हिमलाल पुरी र प्रदेश १ नेता अमृत पाण्डेले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
गएको २०७७ चैत २४ देखि २६ गतेसम्म सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले प्रदेश समितिलाई ‘कार्यकारी’ अधिकार दिने निर्णय गरेको थियो । सम्मेलन पछि अब प्रदेश समितिहरु कार्यकारी हुनेछन् ।
राजमो प्रदेश समितिमा महिला, दलित, पिछडिएको क्षेत्र, जनजाती, मधेशी, अल्पसंख्यक, अपांगता भएका व्यक्ति समावेश गरिने छ ।