काठमाडौं । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।
आयोगले पुस २६ गते (सोमवार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो ।
आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरु र सबै राज्यका निकायहरुलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताउनु भयो ।
उहाँकाअनुसार निर्वाचन आयोगले आफ्नो कानूनि दायित्व निर्वाह गर्नको लागि पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ । सहसचिव धमलाले यससँग सम्बन्धित संघसंस्थाका कर्मचारीहरुलाई विदेश भ्रमण जान भने आयोगको पूर्व सहमति लिनुपर्ने बताउनु भयो । सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थाहरुलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उहाँले अपील गर्नुभयो ।
सहसचिव धमलाले भन्नुभयो, ‘जातजाती, धर्म, भाषा, सम्प्रदायका आधारमा द्वेष, फैलाउने कामहरु गर्नु भएन । जुलुस -याली, सभा बैठक, सवारी साधन प्रयोग गर्ने कुरामा, प्रचारप्रसारका माध्यमहरुको उपयोग गर्ने कुरामा, निर्वाचन खर्च, मौन अवधि अपनाउने विषयको कुरामा, मतदानको दिन के गर्ने भन्ने कुरामा, यस्तो प्रकारले निर्वाचनको आचारसंहिता आयोगको वेबसाइटमा अपलोड गरेका छौँ । सम्बन्धित सबै सरोकारवालाहरुलाई उम्मेदवारदेखि, रजनीतिक दल, अन्य संघसंस्थाहरुलाई अध्ययन गर्न र आचारसंहिताले नगर भनेका कुरा नगर्न अपीलसमेत गर्दछु ।’
सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरुलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको बताउनु भयो ।