काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली भूमी लिपुलेकमा भारतले सडक विस्तारको कार्य जारी राखेको भन्दै आपत्ति जनाएको छ । आइतबार अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति प्रकाशित गरी सडक निर्माणको कार्यमाथि तत्काल रोक लगाउन सरकारसँग माग गर्नुभएको छ ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक विस्तारको कार्य चलिरहेको बताएका थिए । गतवर्ष भारतले सो क्षेत्रमा सडक निर्माण गर्न थालेपछि नेपालले आपत्ति जनाएको थियो । तर, त्यसयता सडक विस्तार नियमित चलेपनि नेपाल सरकार मौन छ ।
राजमोले जारी गरेको विज्ञप्तिमा भारतसँग कुराकानी गरी सडक विस्तार कार्य रोक्न माग गरिएको छ ।
यस्तो छ,विज्ञप्ति
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा ,“मानसरोवरसम्म जाने सडक पु¥याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको” भनेर दिएको सार्वजनीक अभिव्यक्तिप्रति हाम्रो दल राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो विज्ञप्ति जारी गरेका छौँ ।
गत साल भारतले नेपालको कालापानी क्षेत्र अन्तरतग लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नुका साथै भारतका रक्षामन्त्रीले भर्चुअल माध्यमबाट त्यसको उद्घाटन पनि गरिएको थियो । भारतको उक्त हेपाहा कार्यको विरुद्ध देशब्यापी रुपमा जनता सडकमा उत्रेका थिए । भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरी नेपालको अनुमतिविना गरिएको निर्माण कार्यको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भत्र्सना गरेको थियो । त्यसका बाबजुद पनि भारतीय साम्राज्यवादले सडक विस्तारको काम जारी नै राखेको थियो । तात्कालिन अवस्थामा नेपाल सरकारबाट पनि उक्त कार्यको विरोध गर्दै भारतलाई कुटनैतिक नोट पठाएकोे थियो । भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा त्यसको घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गर्दछौँ ।’
२०७८ पुस २५
चित्रबहादुर केसी
अध्यक्ष