काठमाडौं । नेकपा (मसाल) ले नेकपा (माओवादी केन्द्र) दक्षिणपन्थी संगठनमा संक्रमित भइसकेको ठहर गरेको छ । माओवादीले आधारभूत रुपमै कम्युनिष्ट सिद्धान्त परित्याग गरिसकेका कारण अब त्यो कम्युनिष्ट पार्टी नरहेको मसालले स्पष्ट पारेको छ ।
तर, हालै सम्पन्न आठौं महाधिवशनले संगठनमा आएको विचलनलाई स्वीकार गर्दै त्यसमा सुधार गर्ने प्रतिवद्धता गरेकोमा मसालले त्यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ । साथै, माओवादी कार्यकर्तालाई सो पार्टीलाई कम्युनिष्ट पार्टीमा रुपान्तरणको प्रयास गर्न पनि मसालले आग्रह गरेको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी माओवादी केन्द्र कम्युनिष्ट संगठन नभएपनि देशभक्त र जनतान्त्रिक शक्ति भने रहेको स्पष्ट पार्नुभएको छ ।
वर्तमान अवस्थामा प्रतिगामी शक्तिहरुको चलखेल र राष्ट्रघाती एमसीसी सम्झौताविरुद्धको संघर्षमा माओवादीको सकारात्मक भूमिका रहेको पनि सिंहले स्पष्ट पार्नुभएको छ ।
वक्तव्यमा भनिएको छः
‘ने.क.पा.(माओवादी केन्द्र)को आठौँ महाधिवेशन सामान्यतः सम्पन्न भएको छ, यद्यपि केन्द्रीय समितिद्वारा पदाधिकारीहरूको निर्वाचन बाँकी छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा त्यसको विचार र सङ्गठनमा क्रान्तिकारी रुपान्तरण गर्ने तथा सांस्कृतिक रुपान्तरण गर्ने समेत कुरा गरिएको छ । त्यसको प्रतिवेदनमा सङ्गठनको कार्यशैलीमा धेरै नै कमी रहेको र विचलन भएको कुराको पनि आत्मालोचना गरिएको छ र तिनीहरूमा सुधार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ । त्यस अनुसार काम गरिएमा त्यो खुशीको र स्वागतयोग्य कुरा हुनेछ ।
हामीले बारम्बार यो स्पष्ट गरिसकेका छौँ कि माओवादी केन्द्र अब कम्युनिस्ट पार्टी रहेको छैन र त्यो अब दक्षिणपन्थी संशोधनवादी सङ्गठनमा बदलिएको छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट त्यसको धेरै नै विचलन भइसकेको छ । तैपनि त्यसलाई हामीले देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति मान्दछौँ । त्यसैले त्यो हाम्रो मित्रशक्ति पनि हो । हाम्रो कामना छ, महाधिवशेनमा गरिएको समीक्षा, आत्मालोचना र निर्णयहरूबाट एउटा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको रूपमा त्यसको भूमिका अरू सकारात्मक, सशक्त र उच्च बन्दै जाओस् ।
आज देशगंभीर राजनीतिक सङ्कटको मुखमा उभिएको छ । प्रतिगमनको खतरा, २०१७ साल, २०५९ सालमा भन्दा गम्भीर बनको छ । किनभने अहिले एकातिर राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्न सङ्गठित रूपले अभियान चलाइरहेका छन् भने ओली र भारतीय कट्टर हिन्दुवादी शासकवर्गहरूले पनि त्यसका लागि मदत पु¥याइरहेका छन् । त्यसैले अहिले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेतमाथि गम्भीर आघात पुग्ने सम्भावना छ । त्यसकारण त्यसलाई रोक्नका लागि सबै देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरू तथा जनताको व्यापक ऐक्यवद्धताको आवश्यकता छ । माओवादी केन्द्रको महाधिवेशनका निर्णयहरूबाट त्यसका लागि मदत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।
अहिले नेपालको राष्ट्रियताका अगाडि पनि गम्भीर खतरा पुग्ने सम्भावना छ । भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पिया धुरामा कब्जा गरेको र त्यहाँको भूमिलाई भारतमा देखाएर नक्सा समेत प्रकाशित गरेको ता आम रूपमा थाहा भएको कुरा हो । त्यो बाहेक त्यसले सुस्ता सहित नेपालका कैयौँ सिमामा अतिक्रमण गरेको छ । अमेरिकाले एमसीसीद्वारा नेपाललाई इण्डोप्यासिफिक रणनीति र चीनविरोधी मोर्चामा सामेल गर्नका लागि दबाब दिइरहेको छ । माओवादीको महाधिवेशनले कालापानी समेतको भूमिलाई फिर्ता गर्नुपर्ने तथा एमसीसीलाई यथावत रूपमा स्वीकार गर्न नसकिने अडान लिएको छ । हामीले एमसीसी लाई पूरै खारेज गर्नुपर्ने माग गरिरहेका छौँ । माओवादीले एमसीसी बारे त्यस प्रकारको अडान नलिएको भएपनि यथावत् रूपमा त्यसलाई स्वीकार गर्न नसकिने जुन अडानलिएको छ,त्यसले पनि एमसीसीका विरुद्धको सङ्घर्षमा अंशतः सकारात्मक मदत पुग्ने छ । हामीले माओवादी केन्द्रसित आफ्नो महाधिवेशनमा लिएका सबै सकारात्मक निर्णयहरूमा दृढ रहनका लागि आग्रह गर्दछा्रैँ ।
पाँच दलीय गठबन्धन अहिले देशको राजनीति, खास गरेर प्रतिगमनका विरुद्धको सङ्घर्षमा निर्णायात्मक शक्ति बनेको छ । तर कैयाँ दिशाबाट खास गरेर ओलीका तर्फबाट त्यसलाई फुटाउनका लागि पूरा प्रयत्न भइरहेको छ । पाँच दलीय गठबन्धनको विघटनमाथि नै ओलीले आफ्नो सफलताको सपना देखेका छन् । यदि पाँच दलीय गठबन्धनको विघटन भयो र देशमा ओलीको प्रतिगामी राजनीतिको विजय भयो भने देश प्रतिगमन र अधिनायकवाद वा फाशिष्ट शासनतिर जानेछ । त्यसलाई खाली पाँच दलीय गठबन्धन तथा जनताको बलियो ऐक्यवद्धताले मात्र रोक्न सक्दछ र रोक्नु पनि पर्दछ । यसका लागि हामीले माओवादी केन्द्रलाई धन्यवाद दिन चाहान्छौँ कि त्यसले त्यसबारे स्पष्ट नीति लिएको छ ।
राष्ट्रिय सभाको चुनावको सन्दर्भमा पाँच दलीय गठबन्धनको एकता स्पष्ट रूपमा अगाडि आएको छ । त्यसका सबै घटकहरूले सर्वसम्मत प्रकारले उम्मेदवारहरू ठेगान गरेका छन् । त्यसको त्यो भन्दा अर्काे महत्वपूर्ण पक्ष यो हो कि सहमतिका उम्मेदवारहरूका विरुद्ध ५ दलीय गठबन्धनका कुनै पनि घटकले विद्रोही उम्मेदवार खडा गरेका छैनन् । लुम्बिनी प्रदेशको दलित कोटामा राष्ट्रिय जनमोर्चाका तर्फबाट का. तुलप्रसाद विश्वकर्मा (राजेश वि.क)उम्मेदवार बन्नु भएको छ । उहाँ गत ४६ बर्षदेखि नेपालको वामपन्थी, जनतान्त्रिक, सांस्कृतिक र दलित आन्दोलनमा निरन्तर सक्रिय भएको इमान्दार, कर्मठ र सक्रिय नेता हुनुहुन्छ । उहाँलाई विजय बनाउनका लागि हामीले लुम्बिनीका ५ दलीय गठबन्धन वा अन्य सबै जन पक्षीय स्थानीय निकायहरूका जनप्रतिनिधि र प्रदेशका सांसदहरुसित अपील गर्दछौँ । यसका साथै ५ दलीय गठबन्धनका तर्फबाट खडा भएका देशभरिका सबै उम्मेदवारहरुलाई विजय बनाउनका लागि पनि हामीले देशभरिका स्थानीय निकायका सबै जनप्रतिनिधि र प्रदेश सांसदहरूसित पनि अपील गर्दछौँ । त्यसरी हामीले प्रतिगमनलाई निर्णायात्मक रुपले धक्का दिन सक्नेछौँ ।
माओवादी केन्द्रले आफूलाई कम्युनिस्ट भएको दावी गरेको छ र उनीहरूको महाधिवेशनले पनि त्यही प्रकारको समझदारी बनाएको छ । उनीहरू वास्तवमा सच्चा कम्युनिस्ट पार्टी हुन सकेमा त्यो स्वागतयोग्य कुरा हुनेछ । तर त्यसका लागि उनीहरूले सैद्धान्तिक, राजनीतिक, संगठनात्मक र सांस्कृतिक तथा कार्यशैलीमा धेरै नै रूपान्तरण गर्नु पर्नेछ । अहिले उनीहरूको दक्षिणपन्थी संशोधनवादी दिशामा जुन हदसम्म सङ्क्रमण भइसकेको छ, त्यसमाथि विचार गर्दा त्यो कार्य अर्थात् कम्युनिस्ट पार्टीको रूपमा रूपान्तरण गर्ने कार्य सजिलो हुने छैन । तैपनि हामीले माओवादी केन्द्रका सबै कार्यकर्ताहरूसित त्यो दिशामा अगाडि बढ्नका लागि उनीहरूको ध्यानाकर्षित गर्न चाहन्छौँ र त्यसो हुन सकेमा त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई नै धेरै मदत पुग्नेछ ।’
२०७८ पौष २२ गते ।
मोहनविक्रम सिंह
महामन्त्री