जगत्प्रसाद रेग्मी, काठमाडौँ ।
एम.सी.सी. को विरोधमा २२ दलले राजधानीमा विरोध कार्यक्रम सम्पन्न गरेका छन् । उनीहरूले माइतीघर मन्डलामा २०७८ पुस १८ गते विरोध कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एम.सी.सी. मार्फत अमेरिकाले चीनलाई घेर्ने र नेपाललाई नवउपनिवेश बनाउने प्रयास गरेको बताउनुभयो ।
‘यो नेपाललाई अमेरिकाको उपनिवेश बनाउने कामको सुरुवात हो’ उहाँले अगाडि भन्नुभयो– ‘एम.सी.सी. नेपालको असंलग्न परराष्ट्र नीतिको पनि विरुद्ध छ ।’
उहाँले नेपाल चीन जस्तो छिमेकीको विरुद्धमा कुनै हालत जान नहुने बताउँदै अगाडि भन्नुभयो– ‘एम.सी.सी. मार्फत् आउने ५५ अरब रकम ठुलो होइन, यो त नेपालमा सञ्चालित केही संस्थाबाट प्राप्त हुने करमार्फत् आउने पैसाभन्दा बढी होइन ।’
कार्यक्रममा नेकपा (माले) को तर्फबाट घनश्याम मिश्र र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेलले सम्बोधन गर्दै एम.सी.सी. विरुद्धको आन्दोलनलाई अझ अगाडि बढाएर त्यसलाई खारेज गर्नुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट भावना विद्रोही र माक्र्सवादी एकता अभियानको तर्फबाट शम्भु कट्टेलले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का पी.बी.एम. दिनेश शर्माले गर्नुभएको थियो ।