तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय जनमोर्चाको नगर कार्यालयको उद्घाटन भएको छ । शिवराज नगरपालिकाको चनौतामा २०७८ पुस १० गतेका दिन राजमोको नगर कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको उद्घाटन राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यले गर्नु भएको थियो । सो अवसरमा उहाँले शिवराज नगर समिति र यहाँका साथीहरूले राम्रो कामको सुरुआत गरेकोमा बधाई दिँदै कार्यालय नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केरसिंह अदैले कार्यालय स्थापना भएपछि जनतासँग सम्पर्क, बढ्ने, सङ्गठनहरू व्यवस्थित गरिने, जनताका मुद्दामामिलामाथि छलफल गर्न र स्थानीय निर्वाचनका लागि कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
सो अवसरमा जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विकले पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो शिवराज नगर समितिका अध्यक्ष केरसिंह पुनको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिका कलाकारहरूले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो ।