काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति भएको प्रमाणित गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौति दिनुभएको छ । बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रचण्डले सहमति भएको प्रमाणित गर्न अन्यथा झुटो बोलेकोमा माफी माग्न चेतावनी दिनुभएको छ ।
बुधबार ओलीले मोओवादीले गरेको सशस्त्र संघर्षका क्रममा प्रचण्ड र तत्कालिन राजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको बताउनुभएको थियो । सोही सहमतिका आधारमा पूर्वराजा रुकुम रोल्पालगायतका ठाउँमा समेत राजनीतिक अभिनन्दन गर्दै हिँडेको ओलीको दाबी थियो ।
‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्’ प्रचण्डले भन्नुभएको छ, ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
यस्तै, सेयरबजारबारे आफूले गरेको टिप्पणी सही भएको प्रचण्डको दाबी छ । सेयर बजार लाखौं लगानीकर्ताहरुको हितमा रहेको पनि प्रचण्डको भनाई छ ।
‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु’ प्रचण्डको वक्तव्यमा भनिएको छ, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’