अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले पार्टी विरोधी तत्वले फैलाएको भ्रममा नपर्न आम कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
बुधबार राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वार्ड न. १ वडा समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताउनुभएको हो ।
यस्तै, भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अर्का केन्द्रीय सदस्य सागर केसीले अहिले केही तत्वहरुले पार्टी फुटाउने कार्य गरेको र त्यो कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभयो । उहाँले त्यस्ता कार्यलाई परास्त पार्नको निमित्त नेता कार्यकर्ताहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

अगुवा कार्यकर्ता भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवव बाबुराम पन्थीले सम्बोधन गर्दै पार्टीको अनुशासन उल्लंघन गर्दै हिड्ने र अनुशासनमा बस्न नसक्नेहरुले भ्रमको खेती गरेको आरोप लगाउनुभयो ।
यसैगरी जिल्ला सदस्य कविराम खनालले फुटपरस्त तत्वहरुले आफू र आफ्ना नेताहरूको नाम बेच्दै फुटको हल्ला चलाएको भन्दै झुटको खेती नगर्न चेतावनी दिनुभयो ।

अगुवा कार्यकर्ता भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार खडकबहादुर थापा, राजमो भूमिकास्थान नगरसमिति अध्यक्ष टेकबहादुर थापा, नगर समिति सदस्य भोजराज खनाल, अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली लगायतले सम्बोधन गर्नुभएको थियो।

राजमो भूमिकास्थान–१ का अध्यक्ष मेघराज खनालको अध्यक्षता तथा ननुकान्त भुसालको स्वागत र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।