बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर तथा स्वतन्त्र व्यक्तिहरुसमेत राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
बरेङ गाउँपालिका–२ हुग्दिशिरको बराहकोट गजुराका दर्जनौं स्थानीयबासी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेसँगै टोल समिति गठन गरिएको छ ।
बरेङ गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य कृष्णप्रसाद शर्मा, राजमो गाउँ समितिका सचिव चित्रबहादुर श्रीस, अखिल नेपाल युवक संघ जिल्ला सदस्य दुर्गबहादुर थापाको विशेष उपस्थितिमा भेलाको आयोजना गरी पार्टी प्रवेश तथा टोल समिति गठन गरिएको हो ।
नव प्रवेशीहरूले बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले विकासका काम मितव्ययी तरिकाले गरेकोले टोल टोलमा विकासका योजना पुगेको, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत आवश्यकता पूरा गर्न तत्पर रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् ।
नवगठित समितिको अध्यक्षमा झोमबहादुर सुनार, सचिवमा कुसुम छन्त्याल पुन र कोषाध्यक्षमा सोमबहादुर विक रहनुभएको छ ।